कांग्रेसको वडा अधिवेशन ३५ जिल्लामा सम्पन्न

खबरपथ संवाददाता
१८ भाद्र २०७८, शुक्रबार २१:३६

काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसको १४ औं महाधिवेशन ३५ जिल्लामा मात्रै सम्पन्न भएको छ । महाधिवेशनको कार्यतालिका अनुसार १८ भदौमा देशभरका सबै वडामा वडा अविधेशन गर्नुपर्नेमा शुक्रबार ३५ जिल्लामा मात्रै अधिवेशन गरिएको छ।

निर्वाचन समितिका अनुसार प्रदेश १ का ताप्लेजुङ, पाँचथर, इलाम, संखुवासभा, तेह्रथुम, भोजपुर, खोटाङ, सोलुखुम्बु, ओखलढुंगा र उदयपुर जिल्लामा वडा अधिवेशन सम्पन्न भएको छ ।

त्यस्तै वागमतीका दोलखा, सिन्धुली र भक्तपुर जिल्लामा पनि कार्यतालिका अनुसार तोकिएकै मितिमा अधिवेशन भएको छ भने गण्डकी प्रदेशका तनहुँ, गोरखा, लमजुङ, कास्की, मनाङ, मुस्ताङ, पर्वत, स्याङ्जा र म्याग्दीमा वडा अधिवेशन सकिएको छ । मनाङमा अधिवेशनको मितिभन्दा दुई दिनअघि सर्वसम्मत रुपमा नेतृत्व नै चयन भइसकेको छ ।

लुम्बिनी प्रदेशका नवलपरासी, रुपन्देही, गुल्मी, अर्घाखाँचीमा अधिवेशन भएको छ भने कर्णालीका जुम्ला, हुम्ला, जाजरकोट र दैलेखमा पनि अविधेशन सम्पन्न भएको निर्वाचन समिति सदस्य तेज रावलले जानकारी दिए । उनका अनुसार सुदूरपश्चिम प्रदेशका जम्मा चार जिल्लामा मात्रै वडा अधिवेशन भएको छ । बझाङ, डोटी, अछाम र कञ्चनपुरमा वडा अधिवेशन भएको समिति सदस्य रावलले बताए ।

क्रियाशील सदस्यता सार्वजनिक भएका २१ जिल्लाको वडा अधिवेशन भदौ २३ भित्र हुने निर्वाचन समितिले जनाएको छ । समितिका अनुसार नुवाकोट, धादिङ, मकवानपुर, ललितपुर, पाल्पामा २१ भदौमा वडा अधिवेशन हुनेछ । यस्तै बागलुङ, सल्यान, मुगु र बैतडीमा पनि २१ भदौमै वडा अधिवेशन हुनेछ । प्यूठान, दाङ, कालीकोट र दार्चुलामा २२ भदौमा वडा अधिवेशन हुनेछ भने नवलपुर, रोल्पा र रुकुम पश्चिममा २३ भदौमा वडा अविधेशनको मिति तय गरिएको छ ।

२१ जिल्लाको क्रियाशील सदस्यता अझै टुंगिएको छैन । ती जिल्लाका वडा अधिवेशन कहिले गर्ने भन्नेमा अन्यौलता कायमै रहेको निर्वाचन समितिले जनाएको छ । प्रदेश २ का सबै जिल्लासहित काठमाडौं, सिन्धुपाल्चोक, रसुवा, सुनसरी, मोरङ, डडेल्धुरा, कैलाली, कपिलवस्तु, सुर्खेत लगायतका जिल्लाको क्रियाशील सदस्यता सार्वजनिक भएको छैन ।

केन्द्रीय महाधिवेशन मंसिर ९ देखि १३ गतेसम्म काठमाडौंमा हुने गरी कांग्रेस केन्द्रीय कार्यसमितिको साउन ३० को बैठकले कार्यतालिका सार्वजनिक गरेको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*