एमसीसीको माध्यमबाट चीनविरुद्ध नेपालमा अखडा जमाउने अमेरिकाको योजना : चित्रबहादुर केसी
बुटवल । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले एमसीसीको माध्यमबाट अमेरिकाले चीन विरुद्ध नेपालमा अखडा जमाउने योजनामा रहेको बताउनु भएको छ । अध्यक्ष केसीले अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) विरुद्ध सडक र सदनबाट संघर्ष गर्नुपर्ने बताउनुभयो ।
नेपालको हितबिपरित रहेको एमसीसी संसदबाट पास गराउन प्रधामन्त्री शेरबहादुर देउवा लागि परे पनि देउवाको केही नलाग्ने अध्यक्ष केसीको तर्क छ । एमसीसीविरुद्ध मंगलबार बुटवलमा आयोजना गरिएको कार्यक्रममा बोल्दै अध्यक्ष केसीले भन्नुभयो संसदबाट एमसीसी पास गराउन पहिला केपी ओलीले पनि प्रयत्न गरेका थिए, तर सम्भव भएन अहिले देउवा पनि एमसीसी पास गराउने प्रयत्नमा लागि परेका छन् उनको पनि केही लाग्दैन तर सचेत हुन जरुरी छ ।
नेपालको भूगोल प्रयोग गरेर चीनका विरुद्ध अमेरिकाले नेपालमा अखडा जमाउन खोजेको उल्लेख गर्दै एमसीसीमा नेपालको कानुनले केही गर्न नसक्ने अध्यक्ष केसीको दावी छ । एमसीसी परियोजना संसदबाट पास भए नेपालको कानुनले केही गर्न नसक्ने र अमेरिकन कानुन हावी हुने र नेपालको अस्तित्व संकटमा पर्ने अध्यक्ष केसीको तर्क रहेको छ ।
नेकपा मालेका पोलिटव्यूरो सदस्य गोपालमणि गौतमको अध्यक्षता र खोमा तरामुको सञ्चालनमा भएको कार्यक्रममा नेकपा क्रान्तिकारी माओवादीका भुपेन्द्र न्यौपाने, बैज्ञानिक समाजवादीका शाशिराम विक, विेवेकशील साझा पार्टीका किरण शर्मा, चित्रबहादुर थापा, पदम कार्की लगायतले एमसीसीका विरुद्ध आन्दोलनमा उत्रन आग्रह गरेका थिए ।
एमसीसी विरुद्ध सभा हुनु अघि बुटवलमा एमसीसी विरुद्धर्याली निकालिएको थियो ।