लुम्बिनीमा जसपा सांसद निर्मलाले लिइन् पद तथा गोपनीयताको शपथ
बुटवल । लुम्बिनीमा जसपाले समानुपातिकमा मनोनित गरेको प्रदेशसभा सदस्य निर्मला मुडभरी भट्टराईले बुधबार पद तथा गोपनीयताको शपथ लिनुभएको छ ।
सभामुख पूर्णबहादुर घर्तीले रुपन्देही निवासी निर्मलालाई पद तथा गोपनीयताको शपथ गराउनु भएको हो । जसपाले समानुपातिक सांसद कल्पना पाण्डेयलाई कारबाही गरे पछि उहाँको ठाउँमा निर्मला मनोनित हुनुभएको हो ।
निर्मला मनोनित भएसँगै जसपाका सांसद ४ जना पुगेका छन् । लुम्बिनी प्रदेशसभामा सांसदहरुको संख्या ८१ पुगेको छ । जसमा प्रमुख विपक्षी दल एमालेका ३६, नेपाली कांग्रेसका १९, माओवादी केन्द्रका १९ (सभामुखबाहेक), राष्ट्रिय जनमोर्चाका १ र स्वतन्त्र राजनीतिक समूहका १ जना सांसद रहेका छन् ।
लुम्बिनी प्रदेशमा जसपाका ६ सांसदमध्ये तीन जना कारबाहीमा परेका थिए । यसरी कारवाही पर्नेमा सन्तोष पाण्डेय र विजय बहादुर यादव प्रत्यक्ष निर्वाचित थिए भने कल्पना पाण्डेय समानुपातिक तर्फबाट निर्वाचित हुनुभएको थियो ।