ओली र एमसीसी उपाध्यक्ष सुमार बीच भेटवार्ता

खबरपथ संवाददाता
२४ भाद्र २०७८, बिहीबार १९:१०

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) की पूर्वाधार परियोजना उपाध्यक्ष फातिमा सुमारबीच बिहिबार भेटवार्ता भएको छ ।

भेटमा ओलीले सरकारमा आफ्नो पार्टीको पोजिसन फेरिएको र सत्ता पक्षसँग नै एमसीसी अघि बढाउन प्रस्ट बहुमत रहेको बताउनु भएको छ ।

अध्यक्ष ओलीले अहिले एमालेको पोजिसन परिवर्तन भएर विपक्षी दलको हैसियतमा रहेको र एमसीसी अनुमोदन गराउन सत्तामा रहेका दलहरूको नै स्पष्ट बहुमत रहेको कुरा एमसीसीका उपाध्यक्षलाई बताउनुभयो’, एमालेको तर्फबाट भेटवार्तामा सहभागी प्रतिनिधि मण्डल स्रोतले भन्यो ।

भेटमा एमसीसी उपाध्यक्ष सुमारले एमसीसीको पृष्ठभूमि उल्लेख गरेर एमसीसीको सन्दर्भमा एमालेको धारणा जान्न चाहनु भएको थियो। ओलीले भने सत्ता पक्षले स्पष्ट धारणा नबनाई आफूहरूले धारणा नबनाउने बताएको स्रोतले बतायो ।

संसद्को सबैभन्दा ठूलो दल एवं विपक्षी दलका नेता ओलीलाई भेट्न उपाध्यक्ष सुमार ओलीको निवास बालकोट पुग्नु भएको थियो ।

एमाले अध्यक्ष ओलीसहित विदेश विभाग प्रमुख राजन भट्टराई, नेताहरू विष्णु रिमाल, सूर्य थापा लगायतको टोलीले एमसीसीको प्रतिनिधि मण्डलसँग भेटवार्ता गरेको थियो ।

एमसीसीका तर्फबाट उपाध्यक्ष सुमार, सहायक उपाध्यक्ष जोनथन ब्रुक्स लगायत चारजनाको टोली बालकोट पुगेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*