कांग्रेसका प्रवक्ता विश्व प्रकाश शर्माद्धारा महामन्त्रीमा उम्मेदवारी दिने घोषणा

खबरपथ संवाददाता
२४ भाद्र २०७८, बिहीबार १९:२९

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले महामन्त्री पदमा उम्मेद्वारी दिने घोषणा गर्नुभएको छ । कांग्रेसका संस्थापक एवं प्रथम जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालाको १०८ औँ जन्मजयन्तीका अवसरमा तत्कालीन सुन्दरीजल बन्दीगृहमा आज आयोजित विशेष कार्यक्रममा शर्माले बीपीको सपना पूरा गर्न पार्टीको १४ औँ महाधिवेशनमा महामन्त्री पदमा उम्मेद्वारी दिन लागेको बताउनु भएको हो ।

वि सं २०१७ पुस १ गते जननिर्वाचित सरकार अपदस्थ गरी बीपी, गणेशमान, कृष्णप्रसाद भट्टराई लगायत नेतालाई लामो समय थुनेको तत्कालीन सुन्दरीजल बन्दीगृह हालको बीपी सङ्ग्रहालय पुगेर नेता शर्माले उम्मेद्वारी घोषणा गर्नुभएको हो । उम्मेद्वारी घोषणा लगत्तै उहाँले बिपी, गणेशमान, किसुनजी, रामनारायण मिश्र, योगेन्द्रमान शेरचन, दिवानसिंह राई लगायत योद्धाको शालिकमा माल्यार्पण गर्नुभएको थियो ।

“१५ वर्षभित्र सबै नेपालीलाई आफूजस्तै मध्यमस्तरको जीवनशैली यापन गर्न सक्ने हैसियतको बनाउने बीपीको दृष्टिकोण अझै पूरा हुन सकेको छैन, यो सपना पूरा गर्न मैले उम्मेद्वारी दिने घोषणा गरेको हुँ”, शर्माले भन्नु भयो।

बन्दीगृहमा बीपीले रोप्नु भएको कपुरको रुखमा जल सिञ्चन गरी उहाँले सङ्ग्रहालय परिसरमा रुद्राक्षको बिरुवा समेत रोप्नुभएको थियो । कार्यक्रममा कांग्रेस काठमाडौँ क्षेत्र नं ३ का सभापति एवं गोकर्णेश्वर नगरपालिकाका प्रमुख सन्तोष चालिसे, सङ्ग्रहालय समितिका अध्यक्ष परशुराम पोखरेल लगायतले बीपीको सपना पूरा गर्ने नेतृत्वलाई १४ औँ महाधिवेशनमा जिताउने प्रतिबद्धता जनाउनु भयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*