माधव नेपाललाई ‘कमरेड’ भन्न सुहाउँदैन : ओली
बुटवल । नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी ओली शर्मा ओलीले माधव नेपाललाई ‘कमरेड’ भन्न नसुहाउँने बताएका छन् । बुधबार बुटवलमा एमालेको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै ओलीले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले पार्टी माथि बञ्चरो प्रहार गरेर अपराध कर्म गरेको आरोप लगाए । उनले भने, ‘माधव नेपाललाई कमरेड भन्न पनि सुहाउँदैन ।’ उनले पार्टीलाई ध्वस्त पार्ने काम गरे,’ उनी कामरेड होइन, उनी एमाले विरोधी, जनविरोधी हुन् ।’
ओलीले शेरबहादुर देउवा नेतृत्वको सरकारले जनताको काम केही पनि गर्न नसक्ने दाबी गरे उनले बर्तमान सरकारलाई बुख्याँचा सँग तुलना गर्दे सरकारले बुख्याँचा जत्तिको पनि काम गर्न नसकेको टिप्पणी गरे । बुख्याँचाले बरु बाली खान आउनेलाई तर्साउँछ तर यो सरकारले त त्यसो पनि गर्न सकेको छैन,’ ओलीले भने दुई महिना भयो मन्त्रिपरिषद् विस्तार पनि हुन सकेको छैन ।’
ओलीले भने ‘हामीले शिक्षा, स्वास्थ्य, पूर्वाधार निर्माण र सामाजिक उत्थानमा खेलेको भूमिका देखेर हामीलाई रोक्ने प्रयास गरियो,’ ‘हाम्रो सरकार तीव्र विकासको गतिमा अगाडि बढेको थियो । विकास देखेर आत्तिँदै ‘प्रतिक्रियावादी’हरुले सरकार ढालेको आरोप समेत लगाए ।
उक्त कार्यक्रममा नेकपा एमालेका उप–महासचिव विष्णु पौडेलले एमाले केही समयमात्र प्रतिपक्षमा रहने बताए । उनले देउवा सरकारले जनताको मन जित्ने काम गर्न नसकेको भन्दै फेरि केही समय पछि एमाले सत्तामा आउने बताए ।
एमालेले सत्ता चाहेको भन्दा पनि जनतालाई एमाले सत्तामा गएको हेर्ने चाहना भएकाले नै एमाले सत्तामा जाने गरेको उनको भनाइ थियो । उनले चुनाव जित्न सरकारमा बस्नु पर्ने मानसिकता एमालेको नभएको जिकिर गर्दै जनताले जिताउने भए पछि अरु कसैको केही नलाग्ने बताए ।
पौडेलले एमाले विभाजन गर्न ल्याइएको अध्यादेशले एमाले विभाजन नभई पार्टीभित्रका केही स्वार्थी तत्वहरु मात्र बाहिर गएको बताए । उनले पार्टीभित्र देखिएको अन्तरविरोध वैचारिक लडाइँ नभई स्वार्थको लडाइँ मात्र रहेको दाबी गरे ।
त्यसैगरी नेकपा एमालेका उपमहासचिव घनश्याम भुसालले एमाले सबैभन्दा ठूलो पार्टी भएकाले कमजोरी गर्ने र उत्ताउलो हुने छुट नभएको बताए । उनले विभाजित हुँदा पनि एमाले नै सबैभन्दा ठूलो पार्टी रहेको भन्दै कमजोरी गर्ने र उत्ताउलो हुने छुट नभएको बताएका हुन् ।
एमालेलाई २०७४ सालकै अवस्थामा फर्काउने भन्दै उनले एमालेमा आन्तरिक लोकतन्त्र बलियो बनाउन सके मुलुकमा एमालेलाई हराउने शक्ति नहुने प्रस्ट पारे ।
त्यसैगरी पूर्व उपप्रधानमन्त्री एवं नेकपा एमालेका स्थायी कमिटी सदस्य टोपबहादुर रायमाझीले शेरबहादुर देउवालाई टीका लगाई प्रधानमन्त्री बनाएको बताए ।
जनादेशको विरुद्ध परमादेशबाट शेरबहादुर देउवालाई टीका लगा इदिएर प्रधानमन्त्री बनाएको भन्दै उनले विदेशी शक्ति केन्द्र एकातिर र केपी ओलीको नेतृत्व अर्कोतिर भएको बताए ।
पार्टी अनुशासनमा नबस्ने नेताहरुलाई पार्टीले कारबाही गरेको जिकिर गर्दै उनले संसदमा पनि बहुमत जुटाउन नसक्ने, पार्टीमा पनि बहुमत नपुग्ने भए पछि कोही कोही शेरबहादुर देउवाको पुच्छर बनेको टिप्पणी गरे ।