
काँग्रेसलाई बलियो र सशक्त बनाउन मेरो उम्मेदवारी : केसी

बुटवल । नेपाली काँग्रेस बुटवल उपहानगरपालिको सभापतिकी प्रत्यासी रिता केसीले बुटवलमा कांगेसलाई बलियो र सशक्त बनाउनका लागि उम्मेदवारी दिने बताउनु भएको छ ।
शुक्रबार बुटवलमा पत्रकारहरुसँग कुराकानी गर्दै उहाँले भन्नुभयो ‘बुटवल उपमहानगरमा कांग्रेसको संगठनको अवस्था कमजोर भएकाले पार्टीलाई बलियो र सशक्त बनाउका लागि मेरो उम्मेदवारी हो । उहाँले अघि भन्नुभयो मेरो उम्मेद्धवारी ‘बुटवल उपमहानगरपालिकामा कांग्रेसका मेयर, उपमेयर, वडाध्यक्ष, सदस्यहरु लगायत प्रदेश र संघमा पार्टीलाई बिजय गराउनका लागि हो ।’
उहाँले रुपन्देहीका १६ स्थानीय तह मध्ये कहिँ पनि महिला उम्मेद्वार नहुनु दुःखद रहेको बताउनुभयो । ‘कांग्रेस जस्तो प्रजातन्त्रिक दलमा पनि महिला सहभागिता न्यून हुनु दुःखद हो । १६ तहमा कहिँ पनि महिलालाई स्थान दिइएन । एक जना म छु मलाई पनि पछि पार्न खोजिएको छ । तर, म पछि सर्दिन । सहमतिका लागि म निर्वाचनपूर्वको अन्तिम समयसम्म तयार छु तर, सहमतिका नाममा मलाई पछि पार्न खोजिए मान्दिन । ’उहाँले भन्नुभयो ।
सूर्य प्रसाद प्रधानको पालामा बुटवलमा काँग्रेस बलियो भएको बताउँदै उहाँले आफूले सभापति जितेमा काँग्रेसलाई पहिला जस्तै बलियो बनाउने बताउनुभयो । नेपाली काङ्ग्रेस शिक्षा विभागकी केन्द्रिय सदस्य, वुमन केयर नेपालकी सभापति, नेपाली कांग्रेस अनुगमन तथा मूल्यांकन विभाग नेपाली काङ्ग्रेस रुपन्देहीकी सचिव रहेकी केसी दर्जनौं विभिन्न सामाजिक संघ संस्थामा आवद्ध रहनु भएको छ ।