
देउवा सरकारमा मन्त्रीपरिषदले पूर्णता पायो : नवनियुक्त मन्त्रीहरुले लिए सपथ

काठमाण्डौं । प्रधानमन्त्री शेरबहादुर देउवाको मन्त्री परिषदले पूर्णता पाएको छ । प्रधानमन्त्री देउवाको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रीहरुको नियुक्त, जिम्मेवारी फेरवदल र कार्यविभाजन गर्नु भएको छ ।
शुक्रबार प्रधानमन्त्रीले १६ मन्त्री र दुई राज्यमन्त्री नियुक्त गर्नुको साथै केही मन्त्री र राज्यमन्त्रीको जिम्मेवारी हेरफेर गर्नु भएको हो । नवनियुक्त मन्त्रीहरुलाई शुक्रबार नै राष्ट्रपति भण्डारीले सपथ ग्रहण गराउनु भएको छ ।
प्रधानमन्त्री देउवाले नयाँ मन्त्रीपरिषदमा बालकृष्ण खाँणलाई गृह, ज्ञानेन्द्रबहादुर कार्कीलाई सञ्चार तथा सूचना प्रविधि, पम्फा भुसाललाई ऊर्जा, जलस्रोत तथा सिँचाइ, राजेन्द्रप्रसाद श्रेष्ठलाई सङ्घीय मामिला तथा सामान्य प्रशासन, विरोध खतिवडालाई स्वास्थ्य तथा जनसंख्या, जनार्दन शर्मालाई अर्थ, डा। मीनेन्द्रप्रसाद रिजाललाई रक्षा, उमाकान्त चौधरीलाई खानेपानी, डा. नारायण खड्कालाई परराष्ट्र, रेणुकुमारी यादवलाई भौतिक पूर्वाधार तथा यातायात, प्रेमबहादुर आलेलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, दिलेन्द्रप्रसाद बडूलाई कानून, न्याय तथा संसदीय मामिला, देवेन्द्र पौडेललाई शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रीमा नियुक्त गर्नु भएको छ ।
प्रधानमन्त्री देउवाले महेन्द्रराय यादवलाई कृषि तथा पशुपन्छी विकास, उमा रेग्मीलाई महिला, बालबालिका तथा ज्येष्ठ नागरिक, शशी श्रेष्ठलाई भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण, रामकुमारी झाँक्रीलाई सहरी विकास, गजेन्द्र बहादुर हमाललाई उद्योग, वाणिज्य तथा आपूर्ति, रामसहाय प्रसाद यादवलाई वन तथा वातावरण, कृष्णकुमार श्रेष्ठलाई श्रम, रोजगार तथा सामाजिक सुरक्षा, महेश्वरजंग गहतराजलाई युवा तथा खेलकूदमन्त्रीमा नियुक्त गर्नु भएको छ ।
यस अगाडि कानुन, न्याय तथा संसदीय मामिला मन्त्री रहेका मन्त्री ज्ञानेन्द्र बहादुर कार्की सञ्चार तथा सूचनाप्रविधि मन्त्री बन्नु भएको छ । त्यस्तै उमेश श्रेष्ठलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय हेर्ने गरी राज्यमन्त्री, भवानी प्रसाद खापुङ स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री र बोधमाया कुमारी यादव शिक्षा, विज्ञान तथा प्रविधि राज्यमन्त्री नियुक्त हुनु भएको छ । यसअगाडि राज्यमन्त्री श्रेष्ठ स्वास्थ्य राज्यमन्त्रीको जिम्मेवारीमा हुनुहुन्थ्यो ।