नेपाली समाजमा बादी समुदायको अवस्था
विभिन्न समयमा विभिन्न प्रकारका आन्दोलन नेपालमा नभएको भने पक्कै पनि होईन तर पनि एक फरक धार बोकेको बादि आन्दोलन आफ्नो हक अधिकार भित्र केबल गास, बास र कपासको माग राख्दछ न कि अन्य समुदायको आन्दोलन सरी सँस्कृति, कला र जातिय पहिचान । झट्ट हेर्दा २०६४/६५ पछि मात्र सुरु भएको देखिने बादि समुदायको आन्दोलन वि.स. २००० देखि नै भएको भन्ने गोपाल नेपाली (बादि) को दावा रहेको देखिन्छ । वि.स. २०६४ सालमा भएको बादि आन्दोलनमा बादि महिलाहरुले अर्धनग्न भएर सिंह दरबारमा आफ्नो शरिर माथिको अधिकारको लागि र देहव्यापारी भनेर चिनिएको गलत परिचयका लागि शसत्र संघर्ष गरेको देखिन्छ उक्त आन्दोलन ४८ दिन सम्म चलेको थियो र तत्कालिन राज्य व्यवस्था सँग २ बुँदे सम्झौतामा आन्दोलन लाई स्थगित गरिएको थियो । पहिलो बुँदामा बादि समुदाय माथि प्रयोग हुने विभिन्न शब्दहरु जस्तै बादी, पातर जस्ता शब्दहरुले उनीहरुलाई सम्बोधन गर्न नपाईने र दोस्रो बुँदामा बादी समुदायका बालबालिका लाई शैक्षिक छात्रवृति व्यबस्था गरिनु पर्ने । तर पनि उक्त आन्दोलनको एक दशक वितिसक्दा सम्म पनि बादि समुदायलाई हर्ने दृष्टिकोण र सामाजिक संरचना माथि महशुुस गर्न सकिने गरि कुनै पनि परिवर्तन भएको पाईदैन ।
को हुन त बादी, के हो त बादी समुदायको परिचय ?
पछिल्लो लामो समय देखि बादि समुदायको अध्ययन गर्दै आउनु भएको मानव शास्त्री थोमस कोक्स र सन २०१२ मा प्रकाशित यु.एन (UN, RCHCO) को रिपोर्ट अनुसार बादि समुदायको ईतिहास नेपालमा राजा रजौटाहरुलाई मनोरन्जनका लागि भारतबाट झिकाईएकोे भन्ने देखिन्छ । राज घरानामा राजा र राजाका भारदारहरुलाई आफ्नो बाद्य बादन, नृत्य, गायन को माध्यमबाट मनोरन्जन र विभिन्न किसिमका बाद्य बादन सामाग्री निर्माण गर्ने र बेच बिखन गरी जिविको पार्जन गरेको देखिन्छ ।
बादि समुदायको मुख्य पेशा भनेको काठ तथा छाला बाट विभिन्न किसिमका बाद्य बादन हरु जस्तै मादल, बाँउ, तबला, ढोल, डमरु, सारंगी आदि निर्माण गर्ने, माटाका भाँडा निर्माण गर्ने, माछा मार्ने र लोक संगित तथा लोकनृत्यबाट राजा महाराजाहरुलाई मनोरन्जन प्रदान गर्ने भए पनि पछिल्लो समयमा नेपाली समाजको संरचनामा आएको परिवर्तनका कारण बादि समुदायको परिचय र पहिचानमा पनि परिवर्तन भएको देखिन्छ ।
नेपालको राज्य एकिकरण र बदलिदो राजनैतिक परिबेश सँगै बदलिएको सामाजिक संरचनाले नेपालका राजा रजौटाहरुको अवस्थामा आएको परिवर्तनले बादि समुदायलाई भुमी विहिन र मगन्ते समुदायको रुपमा विकास गरेकोे देखिन्छ । पछिल्लो समयमा बादि समुदायका महिलाहरुलाई माग्ने र नाँच गर्ने क्रममा समाजका ठुला, सामन्तीहरुले कुदृष्टि लगाएको र जबरजस्ती यौन पेशाको लागि बाध्य बनाएको र गरिबीका कारण केही बादि महिलाहरुले बाध्यात्मक रुपमा यौन व्यवसाय गरेको र त्यही पक्षलाई मात्र मुख्य रुपमा लिई बादि समुदायको कला, ईतिहास लाई ओझेलमा राखी यौन पेशालाई मात्र मुल धारमा राखी बादि समुदायको परिचय दिन थालियो ।
बादि समाजलाई किन यौन व्यवसायी भनियो त ?
नेपालको एकिकरण पछि नेपालका राजाहरुको अवस्थामा आएको परिवर्तनको प्रत्यक्ष असर बादि समुदायमा पर्न गएको देखिन्छ । राजा रजौटाहरुलाई मनोरन्जन प्रदान गरी आफ्नो जिवन यापन गर्दै आएका बादि समुदायहरु राजदरबार देखि टाढा भई घुमन्ते र मगन्ते जीवन जिउन बाध्य भए तब बादि समुदायका पुरुषहरु माछा मारेर बेच्ने काम गर्न थाले भने महिलाहरु विभिन्न चाड पर्वहरुमा नाच गान गर्दै आउन थाले ।
यसरी समाजका ठुला र सामन्तीको अगाडी नाच्ने गाउने क्रममा बादि समुदायका महिलाहरु माथि कुदृष्टि लगाई जबरजस्ती गर्ने गरेको देखिन्छ । बादि समुदायका अभियान्ता गोपाल नेपाली बादिका अनुसार बादि महिलाहरुलाई नाच्ने गाउने गरेकै कारण उनीहरु माथि दुरव्यवहार गर्ने र उनीहरु माथि शोषण गर्ने क्रमको सुरुवात भएको देखिन्छ । खानको लागि पर्याप्त खाना छैन, बस्नको लागि सुरक्षित आवास छैन, खेती गर्नको लागि जमिन छैन, अर्काको गोठ, खोलाको किनारमा बसी आफ्नो जिविकोपार्जन गर्दै आएका बादि समुदाय माथि भएको अन्याय र दुरव्यवहारलाई उनीहरुको ईच्छाले भएको भनि बादि महिलाहरुलाई यौन व्यवसायीको परिचय दिएको देखिन्छ ।
मेरो बादि समुदाय सँगको निकटता
नेपालका विभिन्न स्थानहरुमा बादि समुदायको बसोबास रहेको छ र दाङ जिल्लाको घोराहीको पक्रैया मा पनि बादि समुदायको बस्ती रहेको छ । आफ्नो बाल्यकालमा बादि समुदायको नाँच हेरको र विधालयमा बादि समुदायका साथीहरु सँगै पढेको कारण बादि समुदाय माथि भएको अन्याय र उनीहरु मथि गरिने निच व्यवहारको म एउटा प्रत्यक्षदर्शी पनि हो । विशेष गरी तिहारको समयमा भैलौ नाच लिएर नाच्ने बादि समुदायका दिदि बहिनीहरुलाई त्यस समयमा र अहिलेको समयमा पनि हेर्ने नजरमा खासै फरक भएको छैन । जसरी उक्त समयमा सबै जना उनीहरुको नृत्य हेर्न लालायित हुन्थ्ये र सँग सँगै बादि भन्ने शब्दलाई गालीको रुपमा पनि प्रयोग गर्दथे ।
बादि समुदायको आन्दोलनको ईतिहास र मुख्य मुद्धाहरु
नेपालको राज्य एकिकरण र बदलिदो राजनैतिक परिबेशले बादि समुदायको परिचय र पहिचान माथि ठुलो प्रहार गरेको प्रत्यक्ष प्रमाण बादि समुदायले गरेको विभिन्न आन्दोलनहरु नै हो । २०६४ सालको ४८ दिने आन्दोलन होस या फेरी २०७७ सालको १६ दिने आन्दोलन । बादि समुदायले विगतको लामो समय देखि खेती योग्य जमिन र आफ्नो समुदाय माथि को दृष्टिकोणको परिवर्तनको लागि गरेको देखिन्छ । पछिल्लो समयमा कोरोना भाईरसका कारण ३ जना बादि समुदायका सदस्यहरुले खाना खान नपाएकै कारण आफ्नो प्राण त्याग गर्न परे पछि सुर्खेतमा खेती योग्य जमिन र सुरक्षित आवासको लागि भएको आन्दोलनले अहिलेको वर्तमान समयमा बादिहरुको अवस्थाको बारेमा धेरै कुरा बोल्दछ ।
विगत को लामो समय देखि बादि हक अधिकारको लागि शसक्त रुपमा कलम चलाईरहनु भएको गोपाल बादि भन्नु हुन्छ, बादि समुदायलाई नेपाली समाजले गलत तरिकाले वर्णन गरी उनीहरुलाई फरक तरिकाले प्रस्तुत गरी झन झन गरिब र अपहेलित समुदायको रुपमा जिवन जिउन बाध्य बनाईरहेको छ, यसमा थप मदत नेपाली साहित्यले गरेको छ ।
बादि समुदाय र नेपाली साहित्यको सम्बन्ध
विभिन्न समयमा बादी समुदायलाई लक्षित गरी लेखिएका साहित्य, कथा, लेख तथा चलचित्रहरुमा बादि समुदायका महिलाहरुलाई यौन व्यवसायीहरुको रुपमा चित्रण गरिएको पाईन्छ । “नथिया” दाङकै पक्रैयाको कथा बस्तुलाई दर्शाइएको उक्त उपन्यासमा एक बादि महिलाको संर्घषलाई उनको यौन पेसासँग मात्र सम्बन्धित गरिएको छ । त्यस्तै पण्डित बाजेको लौरी नामक चलचित्रमा एक बादि दाम्पत्य जोडीको कथालाई देखाईएको छ जसमा श्रीमानले नै श्रीमतीको लागि ग्राहक खोज्ने र बादि महिलाहरुले श्रृंगार र आफ्नो सुन्दरताले सबैलाई लोभ्याउनु पर्ने कुरालाई जोड दिईएको छ । यसरी अहिलेको समयमा बादि समुदायलाई यस किसिमको परिचय दिई लेख, रचना र चलचित्र निर्माण गर्दा सिंगो बादि समुदाय र उनीहरुको संघर्षलाई न्याय देला त ?
सुष्मा छिनाल मानवशास्त्र बाट स्नातकोत्तर एबं हाल महिला पुनःस्थापना केन्द्र दाङ मा कार्यक्रम अधिकृत को रुपमा काम गरिरहनु भएको छ ।