लुम्बिनी सरकारले प्रदेश स्थापना दिवस मनाउँदै, आज प्रदेशभर सार्वजनिक बिदा
बुटवल । लुम्बिनी प्रदेश सरकारले आज प्रदेश स्थापना दिवस मनाउँदैछ । प्रदेश सरकारले स्थापना दिवसको अवसरमा आज (मंगलबार) प्रदेश भर सार्वजनिक बिदा समेत दिएको छ ।
लुम्बिनी प्रदेशले स्थायी राजधानी दाङको देउखुरीमा चौथो स्थापना दिवस मनाउन लागेको हो । प्रदेश सरकारको सबै काम कारवाही बुटवलबाटै हुँदै आएको भए पनि स्थापना दिवस भने दाङमा मनाउन लागेको हो ।
लुम्बिनी प्रदेश सरकारका आन्तरिक मामिला तथा सञ्चारमन्त्री तिलकराम केसीले कोभिड–१९ संक्रमणको जोखिमलाई ध्यान दिँदै सीमित संख्यामा सहभागी गराएर स्थापना दिवस मनाउन लागिएको जानकारी दिनुभयो । मन्त्री शर्माका अनुसार स्थापना दिवसमा प्रदेश सरकारले घोषणा गरेको पदक र विभूति प्राप्त गर्ने संस्था र व्यक्ति, कार्यक्रम आयोजना हुने स्थानीय तहका जनप्रतिनिधि, स्थानीय पालिकामै रहेका संघसंस्थाका प्रतिनिधिलाई मात्र आमन्त्रण गरिएको छ ।
राप्ती गाउँपालिका वडा नम्बर ३ मा रहेको राप्ती प्राविधिक शिक्षालयको हाताभित्र मनाउन लागिएको स्थापना दिवसको तयारी पूरा भएको शर्माले जानकारी दिनुभयो।
कार्यक्रमा प्रदेश प्रमुख अमिक शेरचन, मुख्यमन्त्री कुलप्रसाद केसी, प्रदेश ससभाका सभामुख पूर्णबहादुर घर्तीसहित प्रदेश मन्त्रीहरूको सहभागिता रहने छ ।