
१० बुँदे सहमतिपछि डा. के.सीे.ले तोडे अनशन

काठमाडौं । १० बुँदे सहमतिपछि डा. गोविन्द के.सीे.ले अनशन तोडेका छन् । सरकार र डा. गोविन्द केसीबीच १० बुँदे सहमति पछि १३ दिनमा अनशन तोडेका हुन । सहमतिपत्रमा सरकारका तर्फबाट प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव गणेश पाण्डेय र अनशनरत पक्षबाट डा. केसीले हस्ताक्षर गरेका छन् । सहमतिपछि त्रिवि शिक्षण अस्पतालमा अनशनरत केसीले त्यहीं उपचाररत सरिता चौधरीको हातबाट जुस पिएर अनशन तोडेका हुन् ।
अनशन तोडेपछि पत्रकारहरूसँग कुराकानी गर्दै डा.केसीले आफ्ना मागमा पटकपटक धोका भएको उल्लेख गर्दै फेरि पनि धोका भए अनशन बस्ने चेतावनी दिएका छन् ।
सरकारी अस्पतालको स्वास्थ्य सेवा सुधार गर्न हाल कायम रहेको चिकित्सकको दरबन्दी थप गर्न सरकार तयार भएको छ । त्यसका लागि ५०० शय्याका अस्पतालहरुको संगठन तथा व्यवस्थापन सर्वेक्षणको काम सम्पन्न गरी शीघ्र स्वीकृतिको प्रक्रियामा लैजाने सहमति भएको छ । त्यस्तै अन्य सरकारी अस्पतालको पनि संगठन तथा व्यवस्थापन सर्वेक्षणको काम छिटो सक्ने सरकारले सहमति जनाएको छ ।
त्यस्तै सबै सरकारी अस्पतालमा आकस्मिक सेवा नि:शुल्क गर्न सरकार तयार भएको छ । डा. केसीसँग भएको सहमति सरकारले अब बस्ने मन्त्रिपरिषद् बैठकमा पेश गर्नेछ । डा केसीले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पदाधिकारी नियुक्तिको विषयमा सरकारले कुनै निर्णय नगरेको भन्दै आपत्ति जनाएका छन् । त्यस विषयमा संघर्ष अझै जारी रहने बताएका छन् ।