माघेसकराती अवसरमा शुभकामना आदानप्रदान

खबरपथ संवाददाता
२५ पुष २०८०, बुधबार १७:४४

बुटवल । नेपाल मगर महिला संघ बुटवल उपमहानगर समितिले मगर समुदायको मौलीक पर्व माघेसकरातीको अवसरमा शुभकामना आदानप्रदान तथा अन्तरसंवाद कार्यक्रमको आयोजना गरेको छ । नेपाल मगर महिला संघ बुटवल उपमहानगर समितिका अध्यक्ष सरिता श्रीसमगरको अध्यक्षतामा बुधबार बुटवलमा माघेसकराती पर्वको विषयमा यहाँका बुद्धिजीवि तथा समाजसेवीहरुका बीचमा अन्तरक्रिया तथा छलफलको आयोजना गरेको हो । सो अवसरमा बोल्ने वक्ताहरुले मगर समुदायले हरेक महिनाको १ गते अर्थात सकरातीलाई पर्वको रुपमा मनाउने उल्लेख गर्दै ती मध्ये सबैभन्दा ठूलो सकराती र पर्वको रुपमा माघेसकराती मनाउने प्रचलन रहेको विचार व्यक्त गर्नुभएको छ । परापूर्व कालदेखि माघेसकराती पर्वलाई मगरहरुले विशेष चाडको रुपमा आफन्त र चेलीबेटीहरुसंग भेट्घाट गर्ने, चिसोबाट जोगीन तरुल, सखरखण्ड, बटुक, गेडागुडीका परिकारहरु खाने प्रचलन रहँदै आएको सहभागीहरुको धारणा थियो । कार्यक्रममा मगर र बौद्ध दर्शन शोधका विद्यार्थी एवं सामाजिक अभियन्ता टी.वी. पुनमगरले मगर समुदायको माघेसकराती पर्व र संस्कृतिको विषयमा सहजीकरण गर्नुभएको थियो । कार्यक्रममा नेपाल मगर महिला संघ लुम्विनी प्रदेश अध्यक्ष केशरी तरामुमगर, नेपाल मगर पूर्वसैनिक तथा प्रहरी संगठनका केन्द्रिय उपाध्यक्ष लुम बहादुर सारुमगर, सदस्य बल बहादुर थापामगर, नेपाल मगर संघ लुम्विनी प्रदेश सदस्य एवं फोनिज रुपन्देही अध्यक्ष सनु थापामगर, नेपाल मगर महिला संघ रुपन्देहीका उपाध्यक्ष निर्मला थापामगर, नेपाल मगर संघ बुटवल उपमहानगर समितिका अध्यक्ष बसन्ती साठिघरेमगर लगायतले बोल्नु भएको थियो । कार्यक्रममा नेपाल मगर संघ जिल्ला समिति रुपन्देहीको २२ औं अधिवेशनबाट निर्वाचित बुटवल क्षेत्रका पदाधिकारी तथा सदस्यहरुलाई सम्मान समेत गरिएको थियो । नेपाल मगर महिला संघ बुटवल उपमहानगर समितिका उपाध्यक्ष नारायणी पाटामगरको स्वागतमा भएको कार्यक्रमको सञ्चालन सचिव आकृति थापामगरले गर्नुभएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*