रुपन्देहीमा फागुन १३ देखि २४ गतेसम्म दादुरा—रुबेला विरुद्धको खोप अभियान सञ्चालन हुने
बुटवल । रुपन्देहीमा आगामी फागुन १३ देखि २४ गतेसम्म दादुरा— रुबेला विरुद्धको खोप अभियान सञ्चालन हुने भएको छ । सरकारले यसवर्ष फागुन १३ देखि २४ गतेसम्ममा ९ महिनादेखि १५ वर्ष उमेर समूहका बालबालिकालाई दादुरा–रुबेला खोप अभियान सञ्चालन गर्न थालेको हो ।
स्वास्थ्य कार्यालय, रुपन्देहीका खोप अधिकृत भेषराज शर्माले यस उमेरका कुनै पनि बालबालिका दादुरा–रुबेलाको खोप लगाउनबाट नछुट्ने गरी खोप लगाउने तयारीका साथ व्यवस्थापनमा जुटेको जानकारी दिनुभयो । उहाँले रुपन्देहीमा दुई चरणमा गरी ३ लाख १४ हजार ७३८ जना बालबालिकालाई दादुरा–रुबेलाको खोप लगाइने बताउनुभयो । खोप अधिकृत शर्माका अनुसार पहिलो चरणमा फागुन १३ देखि १७ गतेसम्म बुटवल, देवदह, तिलोत्तमा, लुम्बिनी सांस्कृतिक, सिद्धार्थनगर, ओमसतिया, रोहिणी, सियारी र शुद्धोधन गरी नौवटा पालिका र दोस्रो चरणमा फागुन २० देखि २४ गतेसम्म गैडहवा, कञ्चन, सैनामैना, सममरीमाई, मर्चवारी, कोटहीमाई र मायादेवी गरी सात पालिकामा यो खोप अभियान सञ्चालन हुने बताउनुभयो ।
रुपन्देहीमा अभियान सफल बनाउन १ हजार एक सय खोपकेन्द्र सञ्चालन गरिने,२ हजार २ सय खोपदिने स्वास्थ्यकर्मी, ३ हजार ३ सय स्वयम्सेवक परिचालन गरिनेछ । यस्तै ३४ हजार ९३६ भायल भ्याक्सिन र ३ लाख ९१ हजार ५०४ वटा सिरिन्जको समेत व्यवस्था भइसकेको खोप अधिकृत शर्माले बताउनुभयो । पहिलो चरणमा खोप लगाइने पालिकामा भ्याक्सिनबाहेकका अन्य आवश्यक सबै सामग्री पालिकामा पुगिसकेको बताउनुभयो ।
खोप अधिकृत शर्माले दादुरा–रुबेलाबाट संक्रमित एकजना बालकले १८ जनासम्मलाई सार्न सक्ने भएको र यही किसिमबाट संक्रमण पैलिँदै गएमा महामारीको रुप लिने भएकाले कुनै पनि बालबालिका नछुट्ने गरी खोप अभियान देशव्यापी रुपमा सञ्चालन गर्न लागिएको जानकारी दिनुभयो । यो खोप थपमात्रा भएकोले पहिले नियमित खोप लगाएका बालबालिकाहरुले पनि अनिवार्य रुपमा लगाउनुपर्ने खोप अधिकृत शर्माले बताउनु भयो ।
दादुरा–रुबेलाबाट तराईका जिल्लाका साथैं काठमाडौं उपत्यकाका बालबालिका बढी प्रभावित हुने भएकोले यी ठाउँका १५ वर्षसम्मका बालबालिकालाई यो खोप दिइनेछ भने अन्य जिल्लाका ५ वर्षसम्मका बालबालिकाले यो खोप प्राप्त गर्नेछन् । स्वास्थ्य कार्यालय, रुपन्देहीका खोप अधिकृत चिन्तामणि ज्ञवालीले दादुरा–रुबेलाबाट ५ वर्षमुनिका बालबालिका बढी प्रभावित हुने बताउँदै सरकारले सुरु गर्न लागेको अभियानबाट बालबालिकालाई नछुटाउन आग्रह गर्नुभयो ।