बजेटप्रति मुद्रण उद्योग संघ रुपन्देहीकाे आपत्ति, तत्काल सच्चाउन आग्रह
रुपन्देही । मुद्रण उद्योग संघ रुपन्देहीले सरकारको नयाँ बजेटबाट मुद्रण व्यवसायीहरूमाथि ठूलो मर्कामा परेको जनाएका छन् ।
अर्थमन्त्री वर्षमान पुनले २०८१ जेठ १५ गते मंगलबार संसदमा पेस गरेको आर्थिक वर्ष २०८१/०८२ को बजेटमाथि महासंघको धारणा सार्वजनिक गर्दै विदेशमा मुद्रण भएर आउने तयारी सामग्रीहरूमा भन्सार निःशुल्क गर्ने तथा भ्याट समेत छुट दिने नीतिले स्वदेशी उद्योगी–व्यवसायीमाथि ठूलो मर्का परेको संघले जनाएको हो ।
संघका अध्यक्ष पशुपति पौडेल र सचिव राजु घिमिरेले आइतबार विज्ञप्ती जारी गर्दै यस्तो निर्णय नसच्चाए आफ्ना उद्योग चल्न नसक्ने जनाएका छन् । ‘नेपाल सरकारले आर्थिक वर्ष २०८१/८२ को बजेटमा मुद्रण उद्योगमा प्रयोग हुने कच्चा पदार्थमा विगतको भन्सार दरमा थप ५% वृद्धि गरी १५% बाट २०% पुर्याएको छ भने त्यसमा १३% भ्याट लगाउँदा ३३% हुन गएकाे छ । तर, विदेशमा मुद्रित भई आउने केही तयारी सामग्रीहरूमा भन्सार शुल्क पूर्णतया फ्रि (आम माफी) गरेको र अधिकांश तयारी सामग्रीहरूमा जम्मा ५% देखि १०% मात्र भन्सार शुल्क लगाउने तथा १३% भ्याट समेत छुट दिने घोषणाले नेपाली मुद्रण उद्योगी व्यवसायीहरूले गरेको अरबौँको लगानी धरापमा परेको हुँदा मुद्रण उद्योग संघ रुपन्देहीको गम्भीर ध्यानाकर्षण भएको छ ।’ विज्ञप्तीमा उल्लेख छ ।
यसैगरी संघले उद्यमशीलता विकास गरी देशभित्रै काम गरिखाने सम्पूर्ण मुद्रण उद्योगी व्यवसायीहरूमाथि यो राज्यले गरेको गम्भीर धोका र अपराध भएको विज्ञप्तिमा उल्लेख छ । सरकारको यो नीतिप्रति महासंघले दुःख व्यक्त गरेको छ ।
‘संसारभरिका सरकारले तयारी वस्तु आयातमा बढी भन्सार लिने र उद्योगको विकास तथा प्रवर्द्वनका लागि कच्चा पदार्थमा कम भन्सार शुल्क लिने गर्दछन् तर नेपाल सरकारले विगतदेखि नै ठिक उल्टो निति अवलम्बन गर्दै आइरहेको छ,’ संघको विज्ञप्तिमा भनिएको छ, ‘ संघले निजी क्षेत्रका छाता संगठनहरू नेपाल उद्योग वाणिज्य महासंघ र नेपाल उद्योग परिसंघमार्फत नीतिगत सुधारका लागि दिएका सुझावहरू नेपाल सरकारले सम्बोधन गर्नुको सट्टा मुद्रण उद्योग व्यवसाय नै धराशयी हुनेगरी ल्याइएको गलत भन्सार नीतिप्रति विरोध जनाउँदै, तत्काल नेपाल सरकारको तर्फबाट उद्योग र उत्पादन विरोधी नीतिमा परिवर्तन गरी उद्योगमैत्री भन्सार नीति लागू गरियोस् भनी संघ जोडदार माग गर्दछ ।’
संघले आफ्ना न्यायोचित मागहरूमा ऐक्यवद्धता जनाई मुद्रण उद्योगी व्यवसायीको पक्षमा बहस पैरबी गरिदिन सम्पूर्ण उद्योगी, व्यवसायी, राजनीतिक दल, नागरिक समाज, सञ्चारकर्मी एवम् निजी क्षेत्रका छाता संगठनहरूमा अपिल समेत गरेको छ लगातारको आर्थिक मन्दीका कारण उत्पादन क्षेत्रमा आएको शिथिलतासँगै मुद्रण उद्योगी व्यवसायीहरू क्रमशः पलायन भइरहेका छन् भने यही अवस्था रही रहेको खण्डमा धेरै व्यवसायीहरू पूर्णरूपमा पलायन हुने खतरा रहेको पनि संघले विज्ञप्तिमा उल्लेख गरेको छ । नेपाल सरकारले उत्पादनमुखी भन्दा पनि आयातमुखी अर्थतन्त्रलाई निरन्तरता दिँदै, गलत भन्सार नीति अवलम्बन गरेका कारण गएको १० महिना (०८० साउनदेखि ०८१ वैशाख) को तत्थ्याड्ढ हेर्दा चार अर्ब आठ करोड रूपैयाँ भन्दा बढीको छपाइजन्य सामग्री विदेशमा नै छपाई गरी आयात भएको छ भने यो १० महिनामा १६ अर्ब ५० करोड रूपैयाँ भन्दा बढीको पेपरजन्य कच्चा पदार्थ सार्क राष्ट्र तथा तेस्रो मुलुकबाट आयात हुँदा निर्यात भने जम्मा ८७ करोड रूपैयाँको मात्र हुन पुगेको तथ्य पनि महासंघले आफ्नो विज्ञप्तिमा उल्लेख गरेको छ । मुद्रण उद्योग संघ रुपन्देही, मुद्रण र सम्वद्व उद्योगको स्थायित्व एवम् विकासका लागि समर्पित सम्पूर्ण मुद्रण उद्योगी व्यवसायीहरूको संगठन हो । संघले मुद्रण क्षेत्रमा भोग्नु परेका समस्यालाई पहिचान गरी समाधान गर्दै, व्यवसायिक हकहित स्थापित गर्न र व्यवसायको संरक्षण, सम्बर्द्धन र प्रवर्द्धन गरी देशभित्रै रोजगारी सृजना गर्ने तथा राजस्वमार्फत देशको आर्थिक विकासमा ठोस योगदान पुर्याउँदै आएको छ ।
८५ अर्ब रूपैयाँभन्दा बढी लगानी रहेको यस क्षेत्रमा चार हजारको सङ्ख्यामा मुद्रण उद्योगी व्यवसायीहरू रहेका छन् भने यस क्षेत्रमा प्रत्यक्ष र परोक्ष गरी करिब एक लाख सङ्ख्याको हाराहारीमा मानिसहरू रोजगारीमा संलग्न छन् ।