सबैले गर्नुपर्ने अन्नदान र यसको महत्त्व

श्याम प्रसाद अर्याल
२४ श्रावण २०८१, बिहीबार २०:३७

अन्नाद्भवन्ति भूतानि पर्जन्यादन्नसम्भवः।
यज्ञाद्भवति पर्जन्यो यज्ञः कर्मसमुद्भवः।।
अन्नदानं परं दानं विद्यादानमतः परम्।
अन्नेन क्षणिका तृप्तिः यावज्जीवं च विद्यया॥

गीताले अन्नलाई जीवनको आधार भनेको छ भने उपनिषद् ब्रह्म र पौराणिक ग्रन्थहरूले प्राणको संज्ञा दिएको छ ।

अन्नाद्वै प्रजाः प्रजायन्ते। याः काश्च पृथिवीं श्रिताः। अथो अन्नेनैव जीवन्ति। अथैनदपियन्त्यन्ततः।
अन्नं हि भूतानां ज्येष्ठम्‌। तस्मात्‌ सर्वौषधमुच्यते।सर्वं वै तेऽन्नमाप्नुवन्ति। येऽन्नं ब्रह्मोपासते। अन्नं हि भूतानां ज्येष्ठम्‌। तस्मात्‌ सर्वौषधमुच्यते। अन्नाद्‌ भूतानि जायन्ते। जातान्यन्नेन वर्धन्ते। अद्यतेऽत्ति च भूतानि। तस्मादन्नं तदुच्यत इति।तस्माद्वा एतस्मादन्नरसमयात्‌।
अन्योऽन्तर आत्मा प्राणमयः।तेनैष पूर्णः। स वा एष पुरुषविध एव।तस्य पुरुषविधताम्‌। अन्वयं पुरुषविधः।तस्य प्राण एव शिरः। व्यानो दक्षिणः पक्षः। अपान उत्तरः पक्षः। आकाश आत्मा।पृथिवी पुच्छं प्रतिष्ठा।

जीवन बनाउने पनि अन्नले हो बचाउने पनि अन्नले हो । सायद त्यसै भएर नै हुनुपर्छ अन्न र पानीको दानलाई विशिष्टतम दान मानिएको । भोका मानिसलाई खाना खान दिनु र तिर्खाएको मानिसलाई पानी पिउन दिनुभन्दा ठुलो पुण्य अर्को छैन भन्नेमा सबै धार्मिक ग्रन्थहरू एकमत देखिन्छन् । संसारमा अन्न र पानी मात्र यस्तो चीज हो, जसले पाउने मानिसलाई तृप्त पार्न सक्छन् । यस बाहेक संसारमा कुनै पनि त्यस्ता चीज छैनन्, जसले मानिसलाई सन्तुष्ट राख्न सकोस् । संसारभरीकै सम्पत्ति पाए पनि मानिसको मन अघाउँदैन भन्ने कुरा भागवतमा व्यासजीले उद्घोषनै गरेका छन् । त्यसैले पनि यसको विशेष महत्त्व गाइएको हो । भोकले छट्पटाइरहेका, रगतको अभावमा अस्पतालमा छट्पटाइरहेका, जाडोले कठ्याङ्गि्ररहेका, तिर्खाले छट्पटिरहेका । भोकले छट्पटाइरहेका व्यक्तिहरूलाई अन्नदान र भोजनदान दिनुभन्दा उत्तम दान केही हुँदैन । दान धर्म, कर्म र पुण्यसँग जोडिएको छ । ऋषिमहर्षि र हाम्रा पुर्खाहरूले दानलाई धर्मसँग जोडेर पुण्य लाभ लिन प्रेरित गरे ।
पौराणिक काव्यमा महादान दिने बलिको प्रसङ्ग आउँछ । त्यसैबाट बलिदान शब्द प्रचलित भएको हो । महादान दिनुलाई बलिदानसरह मानिन्छ । पौराणिक मान्यता अनुसार दानवीर कर्णले आफू असुरक्षित हुने गरी आफ्नो रक्षाकवचनै दान दिए । राजा शिविले आफ्नो शरीरै दान दिए । बुद्ध दर्शनमा दानको ठूलो महत्व छ । मुस्लिम धार्ममा पनि दान परम्परालाई उत्कृष्ट कार्य मानिन्छ ।
सबैभन्दा उत्तम दान घोडादान हो । घोडादान भन्दा पनि उत्तम हात्तीदान हो । हात्तीदान भन्दा पनि उत्तम जग्गादान हो । जग्गादान भन्दा पनि उत्तम सुनदान हो । सुनदान भन्दा पनि उत्तम तिलदान हो । तिलदानभन्दा पनि उत्तम अन्नदान हो ।
अन्न नै समस्त प्राणीहरूको जीउने आधार हो । यो पृथ्वीमा जन्मेका सबै जीवजन्तु, प्राणी, वनस्पति सबैलाई आहार चाहिन्छ । त्यसैले आ समन्तात् ह्रीयते रसं यस्मात् स : आहार : भनेर व्युत्पत्ति गरिएको छ । मानिस, चराचुरुङ्गी, जीवजन्तु आहारमानै बाँचेका छन् । पैसादान, सुनदान, जग्गादान जति दिए पनि दान ग्रहण गर्ने मानिसले बाहिर देखावटी रुपमा पुग्यो भन्छ तर भित्री मनमा अझै दिए हुन्थ्यो भन्ने लालसा रहिरहेको हुन्छ । अन्य दान जे गरे पनि र जति दिए पनि मानिसले पुग्यो भन्दैन र पुर्‍याउन पनि सकिँदैन ।
दान दिएपछि लालसा नराख्ने दान अन्नदान हो अर्थात् भोजनदान हो । कुनै एकजना भोको व्यक्तिलाई भोजनदान गरेर पुग्यो भन्ने बनाउन सकिन्छ । संसारमा यो मात्र यस्तो दान हो जसबाट दान ग्रहण गर्ने व्यक्ति पूर्ण सन्तुष्ट हुन्छ, भित्री रुपमा पनि र बाहिरी रुपमा पनि । भोको मानिसलाई एक पेट खान दिएपछि जति चोटि थपौं भन्दा पुग्यो, भो पर्दैन, नाइँ जस्ता उद्गार पाइन्छ । यसबाट दान दिने र लिने दुवैलाई पूर्ण सन्तुष्टि मिल्छ ।

अन्नको विकल्प छैन । पैसाको विकल्प विगतमा पनि थियो, अहिले पनि छ । सुनको विकल्प त विगतमा मात्र होइन, अहिले पनि छ । अनि सुन नहुँदैमा आकाश खस्ने पनि होइन । जग्गाको छुट्टै विकल्प छैन तर जग्गाको व्यवस्थापन गर्न सकिन्छ । तर, पनि भन्न सकिन्छ, अन्नको कुनै विकल्प छैन ।

भोको पेटलाई पैसा, सुन, जग्गा, घोडा, हात्तीलगायत अत्याधुनिक सामान दान दिए पनि कुनै अर्थ हुँदैन । भोको पेटले खोजेको अन्ननै हो । अन्न पितृका लागि पनि प्रयोग हुन्छ, देव कार्यमा पनि प्रयोग हुन्छ । समस्त प्राणीजगत् आहारमा नै बाँचेका छन् । अधिकांशको मुख्य भोजन अन्न नै हो ।

दान अन्य पनि हुन सक्छन् । कन्यादान, गाईदान, भूमिदान, विद्यादान, रक्तदान, लुगादान, मतदान, श्रमदान, अङ्गदान, क्षमादान पनि दानकै प्रकृति हुन् । दानको सरल अर्थ दिनु हो तर कसले कसलाई के दिने भन्ने कुरा महत्वपूर्ण हुन्छ ।

दानलाई त्यागको अर्थमा हेरिन्छ । यसको मतलब दान दिँदा कुनै स्वार्थ हुनु हुँदैन । दानमा परोपकार मात्र हुनुपर्छ । दान दिँदा पनि जे पायो त्यही दान दिन नहुने र दान लिनुपर्दा पनि जे पायो त्यही नलिने हिन्दु वैदिक सनातन धर्मको मान्यता पनि छ । दान दिने र लिने दुवै सत्पात्र हुनु जरुरी हुन्छ । लुटेको सम्पत्ति, शोषेको सम्पत्ति, कालो र अकल्याणको धन, भूमि, सुनजस्ता वस्तु दान लिनु हुँदैन ।

देशमा रहेका अधिकांश गुरुकुल र आश्रममा बसी अध्ययन गर्ने बटुक, भोजनका समयमा आउने आगन्तुकलाई निःशुल्क भोजन गराइन्छ । भोको व्यक्ति जोसुकै पुगे पनि भोजन गराउने परम्परा छ । यो भोजनदानको परम्परालाई अन्नदानले नै सहयोग गरेको छ । यसलाई अझै प्रभावकारी बनाउन मुष्टिदानको महत्व बुझ्न जरुरी छ । कसैले दिएको अन्नले कसैको शरीरमा बल र सन्तुष्टि मिल्दछ भने अरु पुण्य कमाउने कुनै उपाय हुन्छ र ?
विगतको समयमा कोरोना र भूकम्प जस्ता महामारी भोगेर आएका हामी सबैलाई अन्नदानको महत्व बुझ्न जरुरी छ । व्यापारीले यहि मौका हो भनेर पुराना सन्चित रहेका सामानमा पनि भाउ बढाउनु कुनै पनि मानवताको परिचय होइन ।
पेटका कारण लामो यात्रामा हिँडेका श्रमजीवी जनतालाई पैसादान चाहिएको छैन, सुनदान पनि चाहिएको छैन, भूमिदान पनि चाहिएको छैन, अन्नदान अर्थात् भोजन दान गरिदिए पुग्छ । भोजनदान जति पुण्य अरू केही हुँदैन ।

देशमा बन्दाबन्दी भएका समयमा आफूसँग भएको अन्न सबैसँग बाँडिचुडी खाऔं । हिँडिरहेका बटुवालाई भोजनदान गरौं । सक्नेले धेरैलाई भोजनदान गरौं, नसक्नेले एक-दुई जनालाई बाँडेर भोजनदान गरौं । कोही पनि भोकभोकै बस्नु नपरोस्, भोकभोकै हिँड्नु नपरोस् ।

अहिले तराई, पहाड र हिमालतिरका उब्जाउ जमिन बाँझै छन् । गाउँघरका बारी, टारी र बेंसीका खेत बाँझै छन् । मानिस गाउँबाट बेंसी झरेको छ । मुरीका मुरी धान, गहुँ, आलु, मकै उब्जनी हुने बेंसीका खेत कंक्रिटै कंक्रिट बनेका छन् । सहर र सहरोन्मुख ठाउँका उब्जाउ जमिनलाई चिराचिरा गरी प्लटिङ गरिएको छ । घर घडेरीमा बिक्री गरिएको छ । घर बनेका स्थान र कंक्रिटमा अन्न उब्जदैन ।

गाउँघर, सहरबजार, तराई, पहाड र हिमाल, बारी, टारी र बेंसीमा अन्न उब्जाउने, जमिनको रक्षा गर्दै आम नेपालीमा अन्न उब्जाउन, अन्नका लागि अरूको भर नपर्न, खाद्यान्नमा आत्मनिर्भर हुन, अन्नदान र भोजनदानको संस्कृति फैलाउन जरुरी छ ।
१. अन्नदान दिनेको २१ पुस्तासम्म कूल पवित्र रहन्छ ।
२. खाद्य उपहार सबै उपहारहरू मध्ये उत्तम हो।
३. खाना नदिनेहरू परलोकमा भोकै रहनेछन्।
४.तीन लोकमा भोजन भन्दा राम्रो उपहार अरू छैन।
५. भोजन दिनेनै जीवनको वास्तविक दाता हो।
६.खाना उपहार भनेको उपहार हो जहाँ दिने र लिने दुवै वास्तवमा सन्तुष्ट हुन्छन्। अन्य सबै उपहारहरूको फल अप्रत्यक्ष छ।
७.जबसम्म दिने र लिनेलाई भोकको अनुभूति भइरहेको छ, तबसम्म भोजनको दानभन्दा उत्तम उपहार अरू कुनै छैन।
८.जसरी इनारबाट पानी तानेर सफा र पानीको भण्डार बढ्छ, त्यसरी नै खाद्यान्नको लागि दिइने रकम घटिरहेको हुन्न निरन्तर बढिरहेको हुन्छ
९.संसारमा खाना भन्दा राम्रो उपहार कहिल्यै भएको छैन, न कहिल्यै हुनेछ। खानाले शरीरको शक्ति बढाउँछ । खानामा जीवन चल्ने भएकाले भोजन दिनेलाई जीवनदाता मानिन्छ।
१०. न्यायिक माध्यमबाट प्राप्त आम्दानीको दशांश अन्नदानले कसैको जीवन बचाउनका लागि शास्त्रले हामीलाई प्रयोग गर्न बताउँछ।
११.भोकालाई खाना खुवाउनु र भगवानको नाम याद गर्नु परलोकमा उपयोगी हुने दुईवटा कुरा हुन्।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*