अंगिकृत नागरिकलाइ वंसजको नागरिकतादिने कार्य घातक : चित्रबहादुर केसी

खबरपथ संवाददाता
२५ चैत्र २०७५, सोमबार १८:०६

श्यामलाल पोखरेल
२५ चैत, बुटवल । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले अंगिकृत नागरिकलाई वंसजको नागरिकता दिने सरकारको निर्णय राष्ट्रघाती भएको बताएका छन ।

संसदमा छलफल कै क्रममा रहेको नागरिकता विधेयकलाई लत्याएर सरकारले सिडियो मार्फत विदेशीलाई नागरिकता बाड्ने काम गरेको आरोप लगाए । विदेशीलाई प्रधानमन्त्री, मन्त्री, सांसद, सेनापति बनाउने गरी अंकृत नागरिकलाई जन्मको आधारमा नागरिकता बाड्ने षडयन्त्रका बिरुद्व जनतालाई संगठित गरी खवरदारी गर्नुपर्ने बताए । अखिल नेपाल शिक्षक संघको सोमबार बुटवलमा आयोजित पांचौ राष्ट्रिय परिषद् उद्घाटन कार्यक्रममा बोल्दै अध्यक्ष केसीले छलफलको लागि संसदमा रहेको नागरिकता विधेयक खारेज गर्नुपर्ने बताए ।

 

अहिले संसदमा रहेको नागरिकता विधेयक खारेज गर्न नसकिए नेपालमा विदेशीको बहुमत हुने र नेपाली जनता अल्पमतमा पर्ने अध्यक्ष केसीको दावी छ । नागरिकताको विषयमा सरकार विदेशीबाट प्रभावित भएको उल्लेख गर्दै अंगिकृत नागरिकलाई वंसजको नागरिकता दिने गरी संसदमा रहेको विधेयक पास भएमा देश हेर्दाहेर्दै फिजि, सिक्किम हुन ेखतरा रहेको बताए ।

नागरिकता बाड्नका लागि सरकारले क्याविनेटबाट निर्णय गरेर सिडियोलाई सर्कुलर पठाएको उल्लेख गर्दै जो पायो त्यसैलाई नागरिकता दिंदा भोली देश संकटमा पर्ने अध्यक्ष केसीको तर्क छ । सरकारको गलत कामले नेपाली भोली अल्पमतमा पर्ने भएकाले सचेत रहन आग्रह गर्दै चर्चामा आउन आफुले यस्तो कुरा नगरेको बताए । अंगिकृत नागरिकता पाएकालाई वंसजको नागरिकता दिने कार्य देशको लागि घातक हुने बताए । हतारमा गल्ती गरेर फुर्सदमा पछुताउने काम नर्गन सरकारलाई आग्रह गर्दै कम्युनिष्टको नाममा कलंकति हुने काम नर्गन समेत अध्यक्ष केसीले सरकारलाई आग्रह गरेका छन् ।

कम्युनिष्टको नाममा सरकारमा बसेका साथिहरुको काम, व्यवहारले आफुहरुलाई लज्जित बनाएको बताउंदै देशको राष्ट्रियता, सार्वभौमिकता र अखण्डता कमजोर बनेको बताए । गणतन्त्रको नाममा सरकारमा बस्नेहरुले जनतालाई केन्द्रमा राखेर काम गर्न नसकेको बताउंदै कम्युनिष्टको नाममा बनेको सरकारले जनताका आधारभूत समस्या पनि हलगर्न नसकेको बताए । शुरुदेखि संघीयताको विपक्षमा रहेका नेता केसीले नेपाललाई टुक्राउने र अस्तित्व नै मेटाउने गरी संघीयता भित्रिएको बताए । उनले केन्द्र र स्थानीयतहलाई स्थापित गरेर प्रदेशलाई खारेज गर्नुपर्ने बताए । अध्यक्ष केसीले शिक्षामा भएको निजीकरणले देशको शैक्षिक जनशक्ति विदेश पलायनहुने गरेको बताए ।

पूर्व उपप्रधानमन्त्री समेत रहेका नेता केसीले पद, प्रतिष्ठा र पैसा कमाउनका लागि राजनीतिक नेतृत्व हावी हुंदै गएकाले राजनीतिक दल र नेता प्रति जनताको विश्वास घट्दै गएको बताए । राजनीतिलाई उद्योग बनाउन नहुने र राजनीति गर्ने नेताहरुले जनतालाई सेवा तथा अधिकार दिनुपर्ने बताउंदै अध्यक्ष केसीले भने, स्वार्थ भन्दा माथि उठेर राजनीति गरेकालाई मात्र जनताले ढिलो भए पनिबुझ्ने छन् ।

वर्तमान शिक्षा प्रणाली गलत भएकाले खोरज गरी नयां शिक्षा प्रणाली बनाउनुको विकल्प नभएको बताए । उनले शिक्षा प्रणाली गलत भएकै कारण देशमा शैक्षिक बेरोजगार बढेको दावी गरे । शिक्षा प्रणाली स्वार्थी र मतलवी भएकाले खारेज गर्नुपर्ने बताउंदै सिमित मान्छेले शिक्षा, स्वास्थ्यमा ब्रमाहलुट गरेको आरोप लगाए ।

कार्यक्रममा शिक्षक संघका केन्द्रीय अध्यक्ष सानुभाई कार्की, पूर्व अध्यक्ष नरेन्द्रबहादुर थापा, नेपाल शिक्षक महासंघका उपमहासचिव तारा बेल्बासे, अखिल नेपाल शिक्षक संगठन केन्द्रीय अध्यक्ष घनश्याम पाठक, अखिल नेपाल शिक्षक संगठन एकीकृतका वरिष्ठ उपाध्यक्ष ऋषिराम चापागाई, अखिल नेपाल किसान संघका केन्द्रीय उपाध्यक्ष चन्द्र बहादुर केसी, अखिल नेपाल बुद्धिजीवी संघका केन्द्रीय सल्लाहकार दुर्गा खरेल, राष्ट्रिय जनमोर्चा रुपन्देही अध्यक्ष बद्रे आलम, अनेरास्ववियू छैठौंका केन्द्रीय उपाध्यक्ष देवेन्द्र कुंवर लगायतले बोल्दै शिक्षा क्षेत्रमा आमूल परिवर्तन गर्न आवश्यक रहेको बताए ।

उनीहरुले देशमा शैक्षिक जनशक्ति बेरोजगार बन्दै गएकाले व्यवहारिक तथा वैज्ञानिक शिक्षा प्रणाली ल्याउनु पर्नेमा जोड दिए । सानुभाई कार्कीको अध्यक्षता र महासचिव चक्रपाणी पौडेलको सञ्चालनमा कार्यक्रम भएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*