तिलोत्तमा कार्यालयमा एनआईसी एशियाको विस्तारित काउन्टर

खबरपथ संवाददाता
२५ चैत्र २०७५, सोमबार २१:४८

२५ चैत ,तिलोत्तमा । रुपन्देहीको तिलोत्तमा नगरपालिकाको प्रमुख प्रशासनिक कार्यालयमा एनआईसी एशिया बैंकले विस्तारित काउन्टर सञ्चालनमा ल्याएको छ । सेवाग्राहीको सुविधाका लागि स्थानीय तहको कार्यालयमैं विस्तारित काउन्टर सञ्चालनमा ल्याइएको बैंकले जनाएको छ ।
बैंकको यो ४० औं विस्तारित काउन्टर हो । बैंकका हाल मुलुकभर २८१ शाखा छन् तीमध्ये प्रदेश नं. ५ मा मात्र ५१ वटा शाखा छन् । नगरपालिका कार्यालयमा स्थापना गरिएको विस्तारित काउन्टरको एक कार्यक्रमबीच नगर प्रमुख बासुदेव घिमिरेले उद्घाटन गर्नुभयो । त्यसअवसरमा नगर प्रमुख घिमिरेले सेवाग्राहीको सुविधाको लागि नगरपालिकाको आग्रहमा विस्तारित काउन्टर सञ्चालनमा ल्याएकोमा एनआईसी एशिया बैंकप्रति आभार व्यक्त गर्नुभयो ।


काउन्टर सञ्चालनले अब नगरपालिकामा सेवाग्राहीले बुझाउनु पर्ने रकम बैंकमार्फत् हुने र यसले कार्य व्यवस्थापनमा सहजता ल्याउने नगर प्रमुख घिमिरेको भनाइ छ । उप–प्रमुख जागेश्वरी चौधरीले बैंकको एक्सटेन्सन काउन्टर सञ्चालनले नगरपालिकाको सेवा प्रभावलाई थप छिटो–छरितो बनाउने विश्वास व्यक्त गर्नुभयो ।
यस्तै बैंकका प्रादेशिक कार्यालय प्रमुख तिलकसुन्दर कार्कीले तिलोत्तमा निकै संभावना बोकेको नगरपालिका रहेको र नमूना काम गर्दै अघि बढिरहेकाले नगरपालिकासँग सहकार्य गर्दै कार्यालयमैं विस्तारित शाखा सञ्चालनमा ल्याएको जानकारी दिनुभयो । उद्घाटनकैं दिनबाट विस्तार काउन्टरमा सेवा सुरु भएको जानकारी गराउँदै उहाँले नगरपालिकासँग मिलेर अन्य सामाजिक उत्तरदाहित्वका काम गर्न बैंक इच्छुक रहेको उल्लेख गर्नुभयो ।
तिलोत्तमाका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद सापकोटाले काउन्टर सञ्चालनले नगरपालिकाका काम–कारवाहीलाई ‘क्यासलेस’ बनाउने बताउँदै नगरपालिकाले विस्तारै करहरुसमेत अनलाइनबाट तिर्न मिल्ने गरी काम अघि बढाउन चाहेको उल्लेख गर्नुभयो । बैंकका दिपक आचार्यको स्वागत तथा विनोद पोखरेलको सञ्चालमा कार्यक्रम भएको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*