छुवाछुतको सामन्तबाद अन्त्य गर्नेपर्छ : नगरप्रमुख सुवेदी

छुवाछुत अन्त्यको माग गर्दै पैदलयात्रामा निस्केको टोलीलाई बुटवलमा स्वागत
खबरपथ संवाददाता
२६ चैत्र २०७५, मंगलवार २१:५५

२६ चैत, वुटवल ।  जातीय छुवाछुत अन्त्यका लागि महाकाली मेची पैदलयात्रामा रहेको टोलीलाई मंगलबार बुटवलमा भव्य स्वागत गरिएको छ । गत चैत ३ गते सुदुरपश्चिमको महाकाली दोधारा चाँदनीबाट पैदल यात्रामा निस्केको होमराज आचार्य, अशोक दर्नाल र रीता परियारलाई बुटवलमा पञ्चेबाजा सहित स्वागत गरिएको हो । पूर्व सभाषद विनोद पहाडी सहितका नेताहरुले पश्चिमबाट पैदल आएका अभियान्तालाई स्वागत गरेर ¥याली सहित बजार परिक्रमा गरेको थियो ।
बुटवल उपमहानगरपालिका सहित रेडियो जागरण, परियार सेवा समाज, सृजनशिल सहयात्री सार्की समाज, बुटवल सुनचाँदी व्यवसायी संघ, दलित महिला संघ र विश्वकर्मा महिला समाजले संयुक्त रुपमा पैदल यात्रीहरुलाई स्वागत गरिएको थियो । बुटवल उपमहानगरको हलमा पुगेर विभेद तथा छुवाछुत अन्त्यका लागि प्रतिबद्धता सभामा परिणत कार्यक्रममा सहभागी जनप्रतिनिधिले छुवाछुतलाई व्यवहारमै अन्त्य गर्ने प्रण गरेका हुन ।
कार्यक्रममा बुटवल उपमहानगरका नगरप्रमुख शिवराज सुवेदीले छुवाछुत सामाजिक अपराध भएकाले यसको अन्त्य गर्ने दायित्व सबैको भएको बताए । उनले छुवाछुत सामन्तवादी कुरिती भएकाले राजनितिक रुपमा त्यसको अन्त्य भएपनि व्यवहारिक सामन्तवाद अन्त्य गर्न बाँकी रहेको बताए ।


‘आदतका रुपमा छुवाछुतको सामन्तवाद देखिएको छ, अब यसलाई निर्मम ढंगले हेर्नुपर्छ’उनले भने । उनले बुटवल उपमहानगरलाई छुवाछुतमुक्त नगरका रुपमा पहिल्यै घोषणा भएको बताउँदै अब सबैखालका भेदभाव अन्त्यका लागि आचार संहिता बनाएकाले त्यो कार्यान्वयन नगरे दण्डित गरिने बताए । ३५ बर्षअघि आफू शिक्षक भएका बेला दलित समुदायका विद्यार्थीलाई सरस्वती पूजामा खिर पकाउन लगाए वापत जागिरबाट निस्कनुपरेको उदाहरण दिदै नगरप्रमुख सुवेदीले दलित समुदायलाई विभेदबाट मुक्त बनाउँदै आर्थिक रुपमा सवल बनाउने योजना ल्याउने प्रतिबद्धता जनाए ।
कार्यक्रममा पूर्व सांसद विनोद पहाडीले २०५८ सालमै बुटवललाई छुवाछुतमुक्त नगर घोषणा गरेर जातीय भेदभावको बारेमा निगरानी समेत गर्ने गरेको उदाहरण दिदै जातीय छुवाछुत अन्त्यका लागि अब थप नमूना काम गर्ने बेला आएको बताए । दलित समुदायको पक्षमा विभेदका विरुद्ध अमिट छाप छोड्ने काम उपमहानगरका जनप्रतिनिधिले गर्नुपर्छ पहाडीले भने । उनले विश्व चन्द्रमामा पुग्दा नेपालमा छुवाछुत अन्त्यको माग गर्दै सडकमा पैदलयात्रा गर्नुपरेको भन्दै यसको अन्त्य व्यवहारमै गर्न जिम्मेवार बन्नुपर्ने बताए । बुटवल उपमहानगर वडा नम्बर ५ का अध्यक्ष तेजप्रसाद विकले भेदभावको मुद्धा पूरानो भएको भन्दै यो राज्यकै समस्याका रुपमा हेरिनुपर्ने बताए । उनले साझा मुद्धा र अभियानलाई सफल बनाउनुपर्ने बताए ।
कानुनी रुपमा विस २०२० सालमै छुवाछुत अन्त्य गरिएपनि व्यवहारमा भने गणतन्त्र प्राप्त हुँदा पनि अन्त्य हुन सकेको छैन । यहि समाजको कलंकको रुपमा रहेको छुवाछुत सबैको साझा मुद्धा बन्नुपर्ने र गैरदलित पनि सामेल हुनुपर्छ भन्ने सन्देश सहित पैदलयात्रामा निस्केको अभियान्ता होमराज आचार्यले बताए ।


व्यक्तिगत स्वार्थ त्यागेर नितान्त बर्षोदेखि पिडामा बाँचेका दलित समुदायलाई उत्प्रेरेण दिनका लागि सुदुरपश्चिमबाट पैदलयात्रा तय भएको अर्का अभियान्ता रीता परियारले बताईन । २४ औं दिनमा हिडेर बुटवल आएको टोली देवदह, सुनवल, बर्दघाट चितवन हुँदै झापा पुगेर पैदलयात्राको विट मार्ने अभियान्ता अशोक दर्नालले बताए । उनका अनुसार पैदलयात्राका क्रममा जातीय छुवाछुतको मारमा परेका, यसको जिम्मेवार निकाय र नागरिक समाज तथा दलित आन्दोलनका अगुवाहरुसँग भेटघाट गर्दै अघि बढेको छ । बुटवल उपमहानगरले अभियान्ता तीन जनालाई जितगढीको मायाको चिनो प्रदान गरेको थियो ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*