मर्दसाशिक्षालाई मान्यता दिनुपर्ने कुरामा जोड

खबरपथ संवाददाता
२७ चैत्र २०७५, बुधबार २०:३९

२७ चैत, भैरहवा । देशै भरि समानशिक्षा नीति लागू गर्न चर्को बहस भईरहेको बेला अल्पसंख्यक मुश्लिम समुदायको मर्दसाशिक्षालाई पनि सरकारी शिक्षा सरह मान्यता दिनुपर्ने कुरामा जोडदिईएको छ ।
सो कुरा प्रदेश ५ संसदीय समिति अर्थ, उद्योग तथा पर्यटन समितिका सभापति दधिराम न्यौपाने (माधव शर्मा)ले मुलुकको शिक्षा नीति सँग मेलखाने गरि मर्दसाशिक्षालाई व्यवहारिक बनाउनु पर्ने बताएका छन् ।
अव्यवहारिक शिक्षाले देशको विकास हुन नसक्ने जिकिर गर्दै अब मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएसंगै अब शिक्षालाई व्यवहारिक बनाउन सबैको सहयोग आवश्यक रहेकोमा उनले जोड समेत दिए ।
मदरसा कादरिया अहले सुन्नत शमशुल उलूम ओमसतिया गाउँपालिका–४, बालापुर, रुपन्देहीको नवौं वार्षिक उत्सव समारोहमा सम्बोधन गर्दै न्यौपानेले किताबी ज्ञानले मात्र शिक्षा क्षेत्रलाई अगाडी बढाउन नसकिने बताए । उनले सबैले समान शिक्षा पाउनुपर्ने बताए ।
कसैमाथि भेदभाव हुनुहुँदैन, सामुदायिक विद्यालय तथा मदरसामा पढ्ने विद्यार्थीहरुलाई पनि समान ढंगले हेर्नुपर्छ, उनले भने । मदरसालाई अगाडी बढाउन आफुले प्रदेश सरकारमार्फत सहयोग गर्ने उनले प्रतिबद्धता व्यक्त गरे । मदरसाहरु सञ्चालन भएका छन, तर भौतिक पूर्वाधारहरु प्रयाप्त छैन, दयनीय अवस्था छ, यसबारे प्रदेश सरकार पनि गम्भिर छ, उनले भने । पुराना शासकहरुले अझ पनि आम नागरिकलाई अधिकार दिन नखोजेको उनको भनाइ थियो ।
मदरसा कादरिया अहले सुन्नत शमशुल उलूमका अध्यक्ष मुक्तार अहमद खानले मदरसाको व्यवस्थापनमा समस्या भएको बताए । उनले भौतिक पूर्वाधार अप्रयाप्त भएकोले सहयोग गर्न स्थानीय, प्रदेश तथा संघीय सरकारलाई आग्रह गरे । शैक्षिक गुणस्तर राम्रो भए पनि आर्थिक समस्याले पिरोल्छ, उनले भने ।
कार्यक्रममा ओमसतिया गाउँपालिकाका अध्यक्ष हिरा केवट (राहुल)ले गाउँपालिकाका सबै सामुदायिक विद्यालयहरुमा अंग्रेजी माध्यममा पढाइ सुरु भइसकेको बताए । उनले शिक्षा क्षेत्रमा गाउँपालिकाले बजेट बढी विनियोजन गरेको बताए । शिक्षा नीतिमा पनि सुधार गर्नुपर्छ, स्थानीय सरकारले पाएको अधिकार कटौती गर्ने षडयन्त्र भइरहेको छ, त्यसो गरे घरदैलोको सरकार स्थानीय सरकारमार्फत पाउने सेवा सुविधाबाट नागरिक वञ्चित हुनेछन् । शिक्षामा सरकारको लगानी धेरै भए पनि सोचे अनुरुप प्रतिफल प्राप्त नभएको उनले बताए ।
मदरसाका संस्थापक हाजी अब्बास अलीले मदरसामा अध्ययनरत विद्यार्थीहरुको प्रतिभाबाट आफु खुशी भएको बताए ।
मदरसाका पूर्व प्रअ जब्बार अलीले मदरसामा आर्थिक समस्या रहेको बताए । समाजसेवी मुस्ताक अहमद खानको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो । सो अवसरमा परीक्षामा प्रथम, द्धितीय तथा तृतीय स्थान हासिल गर्ने विद्यार्थीहरुलाई पुरस्कार प्रदान गरिएको थियो । त्यसै गरी मदरसामा अध्ययनतर विद्यार्थीहरुले आ–आफ्ना प्रतिभा प्रस्तुत गरेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*