अव पार्टी एकता कुनै शक्तिले बिथोल्न सक्दैनः गिरी

खबरपथ संवाददाता
३० जेष्ठ २०७६, बिहीबार १९:४२

तिलोत्तमा । नेपाल कम्युनिष्ट पार्टी नेकपाका केन्द्रीय सदस्य लिला गिरीले पार्टी एकता अव बिथोलिन नसक्ने बताएका छन् । पार्टीभित्र र बाहिरका कतिपय शक्तिले एकता खलबल्याउने कोशिष गरे पनि अव एकता बिथोलिन नसक्ने उनले दावी गरे ।
नेकपा तिलोत्तमा नगर कमिटी बैठकलाई बिहीबार संबोधन गर्दै केन्द्रीय सदस्य गिरीले पार्टी एकताको धेरै काम सकिएको र जिम्मेवारी बाँडफाँड मात्र बाँकी रहेको जानकारी दिए । मुलुक बनाउनका लागि दुई ठूला कम्युनिष्ट पार्टीबीच एकता गरिएकाले कसैले चाहँदैमा एकता तलमाथि नहुने पनि उनले बताए ।
प्रदेश पाँचका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री समेत रहेका गिरीले सरकारले गरेका राम्रा कामहरुलाई जनतामाझ पु¥याउन पार्टी कमिटीले सक्रिय भूमिका खेल्नुपर्नेमा जोड दिए । “अव पार्टी संगठनलाई मुलुक समृद्धिको अभियानमा लगाइने छ”–उनले भने ।
नेकपाको नगर कमिटीको बैठकले २७ सदस्यीय सचिवालय र पाँच सदस्यीय कार्यालय बनाउने समेत निर्णय गरेको छ । त्यस्तै बैठकले रिक्त रहेको नगर कमिटीका दुईजना सदस्य समेत मनोनीत गरेको छ ।
बैठकमा बोल्दै नेकपाका केन्द्रीय सदस्य एवं प्रदेशसभा सदस्य दधिराम न्यौपानेले अव पार्टी कुनै शक्तिले चाहेर पनि विभाजन हुन नसक्ने बताए । पार्टी एकतालाई कायम राख्न सबै कमिटीहरु सक्रिय भै लाग्नुपर्नेमा जोड दिंदै उनले हरेक चुनौतीको सामना गरेर अघि बढ्न आग्रह गरे । बैठकमा पार्टीका जिल्ला कमिटी सचिव निर्मल जिसीले पनि संबोधन गरेका थिए । प्रदेशका अरु स्थानीय तहहरु भन्दा तिलोत्तमा नगर कमिटीले संगठन निर्माणको काम छिटो सकेको भन्दै नगर अध्यक्ष मोहन चापागाईंले अव पार्टी कमिटी नगरको योजना निर्माणमा लाग्ने बताए । त्यस अवसरमा पार्टीको प्रदेश कमिटीले जारी गरेको सर्कुलर सुरेन्द्र श्रीले प्रस्तुत गरेका थिए ।
नेकपा तिलोत्तमा नगर कमिटीले १७ वटा वडा कमिटी र १२६ वटा टोल कमिटी निर्माण गरेको छ । जसमा वडा कमिटीमा ४९१ र टोल कमिटीमा एकहजार ९६१ ज्ना संगठीत भएका छन् भने नगर कमिटी ८१ सदस्यीय रहेको नगर सचिव लक्ष्मण खनालले जानकारी दिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*