धादिङमा जीप दुर्घटना हुँदा ४ को मृत्यु

खबरपथ संवाददाता
६ असार २०७६, शुक्रबार १४:२७

६ काठमाडौं । धादिङमा जीप दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ ।

कार्कीगाउँबाट तरकारी लिएर वैरेनीतर्फ आउँदै गरेको बा १८ च ९४०८ नम्बरको जीप गल्छी गाउँपालिका ६ को बाझगाउँमा सडकबाट २० मिटर तल खस्दा घटनास्थलमा नै ४ जनाको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

दुर्घटनामा मृत्यु भएका ४ जनाको पहिचान खुलेको छ । प्रहरीका अनुसार ज्यान गुमाउनेमा धादिङको गल्ची गाउँपालिका–४ कार्कीडाँडाका ३८ वर्षीय राजु रम्तेल, कार्कीडाँडाकै ३२ वर्षका सेतु मिजार, गल्ची–६ बाँझगाउँका ३० वर्षीया कान्छी भजेल र बाँझगाउकै २५ वर्षीया नानु तामाङ छन् ।

बैरेनीबाट करिब ५ किलोमिटर भित्र कच्ची सडकमा भएको दुर्घटनामा १० जना घाइते भएका जनाइएको छ ।

दुर्घटनामा घाइते भएकाहरुलाई उपचारका लागि काठमाडौं पठाइएको प्रहरीले जनाएको छ ।

प्रहरी निरीक्षक हेमराज घिमिरेका अनुसार तरकारी बिक्री गर्न बजार झरेका किसानहरु चढेको जीप दुर्घटनामा परेको हो ।

कच्ची सडकको साँघुरो घुम्तीमा चालकले जीप नियन्त्रणमा लिन नसक्दा दुर्घटना भएको प्रारम्भिक अनुसन्धानबाट देखिएको उनले बताए ।

जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार जीपमा करिब १८ जना सवार थिए ।

(खबर हबबाट साभार)

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*