ऋषि पञ्चमीको महत्त्व

ज्यो.चक्रपाणी डुम्रे (शास्त्री)
१७ भाद्र २०७६, मंगलवार ०९:११

तीजको अन्तिम दिन अर्थात् पर्सीपल्ट पर्ने पञ्चमी तिथिलाई ऋषिपञ्चमी भनिन्छ । भाद्र शुक्ल पञ्चमीका दिनमा मनाइने ऋषि पञ्चमी पर्व सप्तषिर्को पूजा गरी वैदिक सनातन हिन्दू धर्मावलम्बी नारीहरूले मनाउँदैछन ।यस बर्ष भने तिथिको घटबढले गर्दा भोलिपल्ट नै परेको छ । बिहानै उठेर नारीहरू नजिकको नदी, खोला, ताल,तलैया र पोखरी वा धारामा गई ३ सय ६५ दतिवनले दाँत माझ्ने, गाईको गोबर, माटो र खरानी लगाई स्नान गर्ने गर्छन् । आयुर्वेदिक शास्त्रले पनि अपामार्गलाई महत्त्वपूर्ण औसधिको रूपमा लिएको छ । रजस्वलाका समयमा छाइछुईलगायत कुनै त्रुटी भएको भए यस दिन अरुन्धतीसहित सप्तषिर्को पूजा गर्नाले त्यसबाट मुक्ति पाइने धार्मिक विश्वास छ । महिलाहरूले महिनावारीको समयमा कुनै त्रुटि हुन गएको भए ऋषिपञ्चमीको व्रत पुजा गर्नाले मुक्ति पाइन्छ भन्ने विश्वास गरिन्छ ।

कस्यपोकत्री भरद्वाजो विश्वामित्रकथ गौतम ।
जमदग्निर्वशीष्ठश्च साध्वी चैवाप्यरुन्धती।।

अर्थात् अरुन्धती सहित, कश्यप, अत्री, भारद्वाज, विश्वामित्र, गौतम, जमदग्नि र वसिष्ठ गरि सात ऋषिको पुजा गरिन्छ । सौभाग्य, एवं पारिवारिक सुखशान्ती र अज्ञात जनित पाप निवारणको कामना गर्दै अरुन्धती सहित सप्त ऋषि र विभिन्न देवीदेवताको पुजा गरि भजन किर्तन एवं मैलिक तीज गीतमा नाचागान गरिन्छ ।
तीजको अन्तिम दिन भएकाले पनि यस दिनलाई महिलाले महत्त्वपूर्ण रूपमा हेर्दछ्न । यसरी ऋषिपञ्चमी पनि हाम्रा मौलिक पर्व हो । पर्वका नाममा भित्रिएका विकृतिलाई निरुत्साहित गर्दै हाम्रा मौलिक जगेर्ना गर्न तर्फ लागौं । अस्तु।

(लेखक नेपाल ज्योतिष परिषद् रूपन्देहीका अध्यक्ष हुन्।)

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*