१३ औं दक्षिण एसियाली खेलकुद (साग)का खेल आजबाट सुरु

खबरपथ संवाददाता
११ मंसिर २०७६, बुधबार १२:४६

काठमाडौँ — नेपालले बंगलादेशसँग बुधबार दिउँसो ३ बजे महिला भलिबलमा प्रतिस्पर्धा गरेसँगै १३ औं दक्षिण एसियाली खेलकुद (साग) का खेल सुरु हुनेछ । आइतबार भव्य समारोहबीच उद्घाटन भएपछि मात्र १३ औं सागले औपचारिकता पाउनेछ ।

भलिबल ५ दिनअगाडि नै सुरु हुन लागेको हो । भलिबल सकिएपछि राष्ट्रिय खेलकुद परिषद्स्थित कभर्डहलमा मंसिर १९ देखि बास्केटबल र थ्री बाई थ्री बास्केटबल हुनेछ । बुधबार नै महिला भलिबलमा पाकिस्तान र माल्दिभ्सको प्रतिस्पर्धा हुने कार्यक्रम छ । नेपाल र बंगलादेशससँगै समूह ‘ए’ मा भारत रहेको छ । समूह ‘बी’ मा श्रीलंका, माल्दिभ्स र पाकिस्तान छन् ।

पुरुष भलिबल पनि बुधबारै सुरु हुनेछ । साँझ ७ बजे हुने दिनको एकमात्र खेलमा नेपालले बंगलादेशको सामना गर्नेछ । पुरुषको समूहमा पनि समूह ‘ए’ नेपाल, भारत र बंगलादेश तथा समूह ‘बी’ मा श्रीलंका, माल्दिभ्स र पाकिस्तान रहेका छन् ।

भलिबलमा प्रतिस्पर्धा गर्न भारतीय टोली अझै काठमाडौं आइपुगेको छैन । महिलामा भारतले नेपालसँग बिहीबार दिउँसो ५ बजे तथा पुरुषमा बंगलादेशसँग ३ बजे खेल्ने कार्यक्रम छ । भारत नआए पनि मंगलबार प्राविधिक समितिको बैठक बसेर खेलतालिका तय गरेको थियो ।

त्यस्तै टेबलटेनिसमा भुटानले सहभागिता नजाउने भएको छ ।

टेनिसको पुरस्कार घोषणा

दक्षिण एसियाली खेलकुदको १३ औं संस्करणमा पदक जित्ने नेपाली टेनिस खेलाडीलाई काठमाडौं जिल्ला टेनिस संघले नगद पुरस्कार घोषणा गरेको छ ।

नेपाल टेनिस संघका महासचिव तथा काठमाडौं जिल्ला टेनिस संघका अध्यक्ष मनोहरदास मुलले खेलाडीको हौसला बढाउँदै नगद पुरस्कार घोषणा गरेका हुन् । उनले स्वर्णलाई ५० हजार, रजतलाई ३० हजार र कांस्यलाई २० हजार रुपैयाँ दिइने बताए । टेनिसमा ६–६ पुरुष–महिला खेलाडीले प्रतिस्पर्धा गर्दै छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*