नेपाल कारोनाको अतिउच्च जोखिमको सूचीबाट हट्यो
काठमाडौं । बिश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले नेपाललाई कोरोनाको अति उच्च जोखिमबाट एक तह तल झारेको छ । छिमेकी मुलुक चीनको वुहान शहरमा कोरोना भाइरस देखिएको र भारतसँगको खुला सीमाका कारण नेपाललाई अतिउच्च जोखिममा राखिएको थियो।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह प्रवक्ता डा समिरकुमार अधिकारीले नेपालले कोरोना भाइरसको रोकथाम र नियन्त्रणमा गरेको उपचार पद्धति देखेर डब्लुएचओले अतिउच्च जोखिमबाट उच्च जोखिममा झारेको जानकारी दिएका छन्। उहाँका अनुसार नेपालले बन्दाबन्दी तथा अन्तरराष्ट्रिय र भारतीय नाका बन्द गरेपछि संक्रमणको जोखिम कम भएकाले उच्च जोखिममा झारिएको हो।
नेपालमा कोभिड १९ संक्रमण फैलिन नदिनका लागि गत चैत ११ गतेदेखि लकडाउन गरिएको छ । कोभिड १९ को परीक्षणको दायरा समेत बढाइएकाले अतिउच्च जोखिमबाट तल झरेको बताइएको छ ।
डव्लुएचओले नेपालको कोरोना नियन्त्रण सम्वन्धी कदमलाई सही दिशामा अघि बढीरहेको उल्लेख गरेको छ । नेपालमा अहिलेसम्म कोरोनाबाट ४९ जना संक्रमित भएका छन् । तीमध्ये ११ जना निको भएर घर फर्किसकेका छन् ।