अक्षय  तृतीयाको महत्त्व

ज्यो. चक्रपाणी डुम्रे ( शास्त्री)
१४ बैशाख २०७७, आईतवार १३:२२

बैशाख महिनाको शुक्ल पक्षको तृतीया तिथिलाई नै अक्षय तृतीया भनिन्छ । अक्षयको अर्थ हुन्छ कहिल्यै क्षय नभएर स्थायी रहने ।  यस दिन सातु र सर्वत दान गर्ने प्रचलन छ । दालचिनी ल्वाङ सुकुमेल अलैंची मह चिनी सख्खर र मिस्रीमध्ये एक चिज लगाई सर्बतसँगै र जौको सातु दान गर्ने चलन छ । आज बुढाबुढीलाई छाता लौरो र कपडाको जुत्ता दान गर्ने तथा गच्छे भए गाई जमिन अन्न र सुन पनि सत्पात्रलाई दान दिइने गरिन्छ ।यसै दिन शुभ होस् राम्रो फल परिणाम प्राप्त होस् भन्नका हेतु नयाँ कार्यको शुभारम्भ गर्ने पनि चलन छ अथवा अन्य कुनै पनि शुभ वा मांगलिक कार्य यसै दिन सम्पन्न गर्न सकिन्छ ।अक्षय फल प्राप्ति होस् भन्ने कामनाका साथ यस तिथिमा पितृतर्पण गरिन्छ ।श्रीकृष्णले पनि यस तिथिलाई परम पुण्यमय मान्नु भएको छ । यस दिन मध्याह्नभन्दा पहिले नै स्नान, जप, तप, होम, स्वाध्याय, पितृ-तर्पण तथा दान आदि संपन्न गर्ने महाभाग व्यक्तित्वले अक्षय पुण्यफलको भागी हुने अवसर प्राप्त गर्दछ ।

पौराणिक कथाअनुसार विष्णुले परशुराम अवतार लिएकाले यस दिनलाई परशुराम
जयन्तीका रुपमा पनि मनाइन्छ । परशुरामलाई विष्णुका दशावतारमध्ये एक मानिन्छ । परशुराम चिरन्जीवी छन् । उनको आयुको क्षय भएन त्यसैले यस तिथिलाई चिरन्जीवी तिथि पनि भनिन्छ । चार युगहरूमा सत्य युग र त्रेता युगको प्रारम्भ यसै तृतीया तिथिबाट भएको हो । यसकारणले यस तिथिलाई ‘युगादितिथि’ पनि भनिन्छ । चार धामहरूमध्ये एक बद्रीनाथ धामको ढोका यसै दिन अर्थात अक्षय तृतीय तिथिकै दिन खोलिन्छ । भनिन्छ यस शुभ तिथिमा गरिएका दान पूजन हवन दक्षिणा या कुनै पुण्य कार्य अक्षय फल प्रदान गर्ने किसिमको हुन्छ । यो एक स्वयं सिद्ध मुहूर्त हो । यो कुनैपनि शुभ कार्य गर्नका लागि सबभन्दा राम्रो तिथि हो । वेदव्यासले यसै दिन महाभारतको रचना प्रारम्भ गरेका थिए । भगवान नरनारायण हयगृव एवं परशुरामको जन्म यसै तिथिमा भएको थियो । लोकमान्यता छ कि अक्षय
तृतीयाका दिन रोहिणी नक्षत्र परेन भने दुष्टहरूको बलबृद्धि हुन्छ । यस दिन जलले भरिएका कलश जूत्ता गाई भूमि स्वर्णपात्रको दान गर्नु पर्छ । यसै दिन कैलाशवासी महादेव र हिमालयकी छोरी पार्वतीको विवाह भएको विश्वास गरिन्छ ।

हिन्दुशास्त्रहरूका अनुसार वर्षभरीमा कैंयौं विशेष योगहरू पर्छन । ती मध्ये एउटा महायोग एव  स्वयं सिद्ध मुहूर्त ‘अक्षय तृतीया’  हो । यो महायोग वर्षमा केवल एक
पटक मात्र पर्दछ । ज्योतिषहरूका अनुसार यस दिनमा गरिएका सबै सत्कर्महरूको अक्षय पुण्य प्राप्त हुन्छ । वर्षको सबभन्दा पवित्र दिन हुनाले अक्षय तृतीयालाई ‘बिघ्नविनाशक दिन’ पनि भनिन्छ । गर्मी महिनाको यस दिन भगवानको पूजा, आराधना, दान गर्ने र सातुसर्वत खुवाउने, खानेपानीको व्यवस्था गर्नेजस्ता
काम सुस्वास्थ्य र परोपकारका दृष्टिबाट उपयोगी र महत्वपूर्ण मानिन्छ ।

अत: हाम्रा हरेक पर्व भित्र कुनै न कुनै बैज्ञानिक रहस्य रहेकै हुन्छ । आपसी सद्भाव , सामाजिक दायित्व , परोपकारको भावना लगाएत  पारस्परिक भावना जोडिएको पर्व लाई आत्मसात गरौं । पर्वको महत्त्व बुझौं र बुझाउदै अघि बढ्ने हो भने मात्र चाडपर्वको जगेर्ना हुन्छ । अनिमात्र पर्व मनाउनुको औचित्य रहन्छ ।

( लेखक नेपाल ज्योतिष परिषद् रूपन्देहीका अध्यक्ष हुन् )

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*