
प्रथम प्रचण्ड थैव नकआउट फुटवल : भैरहवा-११ र सराई विजयी

बुटवल । बुटवलको सिद्देश्वर खेल मैदानमा जारी प्रथम प्रचण्ड थैव नकआउट फुटबल प्रतियोगिता अन्तरर्गत आजको खेलमा भैरहवा-११ र सराई एफसी पाल्पा विजयी भएका छन् । सिद्धेश्वर खेलमैदानमा भएको पहिलो खेलमा सम्पुर्ण एफसी सुपौलीलाई भैरहवा-११ र दोस्रो खेलमा सयपत्री युवा क्लबलाई सराई एफसीले समान २-१ गोल अन्तरले पराजित गर्दै दोस्रो चरणमा प्रवेश गरेका छन् ।
बिहानको पहिलो भैरहवा ११ र सम्पूर्ण क्लब सुपौली बिच भएको खेलमा ११ का सुबिन बिकले खेलको ४४ औ मिनेटमा गोल गर्दै टिमलाई खाता खोलेका थिए । भैरहवाकै सरुण थापाले ५५ औ मिनेटमा अर्को गोल गरे । सम्पुर्णका कमल गुरुङले ६९ औ मिनेटमा सान्त्वना गोल गरेका थिए । आजको पहिलो खेलमा म्यान अफ दि म्याच भैरहवाका जितेश गुरुङ घोषित भएका थिए ।
यसैगरी सोमबार नै भएको दिउसोको सराई युवा क्लब पाल्पा र सयपत्री यूवा क्लब रामनगर बिच भएको खेलमा सराई एफसी पाल्पाको जितमा अनिल गाहाले खेलको तेस्रो र ३९ औ मिनेटमा गोल गर्दै टिमलाई विजयी बनाएका थिए । भने खेलको अन्तिम मिनेटमा सयपत्रीका रोशन घतानेले सान्त्वना गोल गरेका थिए । आजको दोस्रो खेलमा सराईका अनिल गाहा म्यान अफ दी म्याच घोषित भएका थिए ।
भोली (मंगलबार) दुई खेलहरु हुनेछन । बिहान पहिलो खेलमा नवएकता एफसी शिवपुर र केरवानी एफसी ढिकार र दिउसो दोस्रो खेलमा चादनी एफसी दानापुर र फर्साटिकर एफसी फर्साटिकरका बिच हुने खेल संयोजक चक्र बहादुर खड्काले जानकारी दिनुभयो । प्रतियोगिताको उपाधि विजेताले ५५ हजार ५ सय ५५ रुपैयाँ, कप, मेडल, प्रमाणपत्र प्राप्त गर्नेछन् । त्यस्तै उपविजेता टिमले नगद २५ हजार ५ सय ५५ रुपैयाँ, कप, मेडल, प्रमाणपत्र प्राप्त गर्नेछन् । यसैगरि प्रतियोगितामा विधागत रुपमा खेलाडीहरुलाई समेत पुरस्कृत गरिने छ । पौष ५ गते सम्म हुने प्रतियोगितामा २० टिमले उपाधिका लागि प्रतिष्पर्धा गर्नेछन ।