प्रथम प्रचण्ड थैव नकआउट :शिवनगर र झरना विजयी

भोली (बिहिबार) हुने खेल : सिद्धार्थ भर्सेस चरङ्गे ,सौभाग्य भर्सेस मजुवा
खबरपथ संवाददाता
२४ मंसिर २०७७, बुधबार १८:५८

बुटवल । बुटवलको सिद्देश्वर खेल मैदानमा जारी प्रथम प्रचण्ड थैव नकआउट फुटबल प्रतियोगिता अन्तरर्गत बुधबार भएको खेलमा शिवनगर युवा क्लब र झरना स्पोर्टस् क्लब विजयी भएका छन् ।

आज बिहानको पहिलो खेल राधाकृष्ण युवा क्लब पुरानो बसपार्क र शिवनगर युवा क्लब बुटवल ७ बिच भएको थियो । प्रतियोगितामा शिवनगरले राधाकृष्ण युवा क्लबलाई १/० गोल अन्तरले पछि पार्दै अघिल्लो चरणमा प्रवेश गरेको छ ।

शिवनगर युवा क्लबका तर्फबाट जर्सी नं. ११ का बिकाश थापाले खेलको ४८ औं मिनेटमा निर्णायक गोल गरेका थिए । प्रतियोगितामा म्यान अफ दि म्याच शिवनगर युवा क्लबका जर्सी नं. ११ का विकाश थापा घोषित भए । म्यानअफ दि म्याच विकाश थापालाई शिवालय युवा क्लबका अध्यक्ष रवि गौचनले पुरस्कार प्रदान गर्नु भएको थियो ।

यसैगरी बुधवार नै भएको दिउसोको झरना स्पोर्टिङ्ग क्लब कुन्जलापूर र डियुनीटी युवा क्बल खैरनी बिच भएको खेलमा झरना स्पोर्टिङ्ग युवा क्लब कुन्जलापूरले डियुनीटी युवा क्बललाई १/० गोल अन्तरले पछि पार्दै अघिल्लो चरणमा प्रवेश गरेको छ ।

झरना स्पोर्टिङ्ग क्लबका जर्सी नं. १३ का ओम प्रकाश थापाले २३ औं मिनेटमा गरेको एक मात्र गोल नै निर्णायक हुन पुगेको थियो ।

दोस्रो खेलको म्यान अफ दी म्याच झरना युवा क्लबका ओम प्रकाश थापा घोषित भए ।  म्यान अफ दी म्याच ओम प्रकाश थापालाई सौभाग्य युवा क्लबका कानुनी सल्लाहकार अधिवक्ता दिपक कार्कीले पुरस्कार प्रदान गर्नुभएको थियो ।

भोली (बिहिबार) दुई खेलहरु हुनेछन । बिहान पहिलो खेलमा सिद्धार्थ युवा क्लब चपरहट्टी र चरङ्गे युवा क्लब देवदह बिचमा हुनेछ भने दिउसोको दोस्रो खेलमा आयोजक टिम सौभाग्य युवा क्लब ए र मजुवा युवा क्लब मजुवा बिच हुने खेल संयोजक चक्र बहादुर खड्काले जानकारी दिनुभयो ।

प्रतियोगिताको उपाधि विजेताले ५५ हजार ५ सय ५५ रुपैयाँ, कप, मेडल, प्रमाणपत्र प्राप्त गर्नेछन् । त्यस्तै उपविजेता टिमले नगद २५ हजार ५ सय ५५ रुपैयाँ, कप, मेडल, प्रमाणपत्र प्राप्त गर्नेछन् । यसैगरि प्रतियोगितामा विधागत रुपमा खेलाडीहरुलाई समेत पुरस्कृत गरिने छ । पौष ५ गते सम्म हुने प्रतियोगितामा २० टिमले उपाधिका लागि प्रतिष्पर्धा गर्नेछन ।

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु