
तिलोत्तमामा मंसिर २८ गते देखि भलिबल प्रतियोगिता हुने

बुटवल । रुपन्देहीको तिलोत्तमामा आगामी मंसिर २८ गते आइतबारदेखि पुरुष भलिबल प्रतियोगिता हुने भएको छ । नगरपालिकाको आर्थिक सहयोगमा वडा नम्बर–८ मा प्रथम नगरपालिका वडा स्तरीय भलिबल प्रतियोगिता हुन भएको हो ।
शुक्रबार नगपालिकामा पत्रकार सम्मेलन गरी प्रतियोगिता बारे जानकारी गराउँदै आगामी मंसिर २८ गते देखि ३० गते सम्म चल्ने प्रतियोगितामा नगर भित्रका १० टिम सहभागी हुने नगर खेलकुद विकास समितिका संयोजक राजेन्द्र गुरुङ्गले जानकारी गराउनुभयो ।
स्थानीय लाङ्घाली युवा परिवारको समेत सहयोग रहने गरी आयोजना गरिएको प्रतियोगितामा विजेताले ५० हजार पुरस्कार राशी सहित गोल्ड मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् । यसैगरी दोस्रो र तेस्रो हुने टिमले क्रमशः ३० हजार तथा २० हजार नगर पुरस्कार प्राप्त गर्ने आयोजकले जनाएको छ । एक वडाबाट एक टिमले मात्रै सहभागीता जनाउन पाउने प्रतियोगितामा बेस्ट प्लेयर, बेस्टर सेटर, बेस्टर ब्लकर, बेस्ट स्पाइकर, बेस्ट सर्भर तथा अनुशासित खेलाडीलाई सम्मान गरिने संयोजक गुरुङले जानकारी दिनुभयो । प्रतियोगिता सम्पन्न गर्नका लागि ५ लाख खर्च अनुमान गरिएको छ ।
यस आर्थिक वर्षमा हुने अन्य खेलकूद गतिविधिहरु समेत जानकारी गराइएको छ । नगरपालिकाको आर्थिक सहयोगमा आगामी वैशाख सम्म गरिने विभिन्न ९ वटा प्रतियोगिता बारे नगरका प्रवक्ता सुरेन्द्र श्रीले जानकारी गराउनुभयो । मंसिरमा भलिबल प्रतियोगिता आयोजना गरेको नगरले पुस महिनामा व्याटमिन्टन तथा विद्यालय स्तरीय छात्रछात्रा भलिबल तथा माघ महिनामा उप मेयर कप खुल्ला भलिबल प्रतियोगिता ,यसैगरी माघ महिनामा मेयर कप रनिङ्ग सिल्ड फुटबल, फागुनमा विद्यालय स्तरीय फुटबल तथा क्रिकेट आयोजना गरिने जानकारी श्रीले जानकारी गराउनुभयो ।
त्यसैगरी फागुन महिनामै ग्रास रुट स्तरीय २ दिने फुटबल तालिम सञ्चालन गर्ने भएको छ । यस्तै यसै आर्थिक वर्षको वैशाख महिनामा वडा स्तरीय क्रिकेट प्रतियोगिता गर्ने भएको छ । वर्ष भरी सञ्चालन गरीने प्रतियोगिताले नगरको खेल क्षेत्रको विकासमा सहयोग गर्ने कार्यबाहक नगरप्रमुख जागेश्वरी चौधरीले बताउनुभयो । स्वास्थ्यका लागि खेलकूद, राष्ट्रका लागि खेलकूद तथा सबैका लागि खेलकूद भन्ने मूल नाराका साथ प्रतियोगिताहरु आयोजना गर्न लागिएको उहाँले बताउनुभयो ।