तिलोत्तमामा वडास्तरीय पुरुष भलिबल प्रतियोगिता सुरु

खबरपथ संवाददाता
२८ मंसिर २०७७, आईतवार १८:१५

तिलोत्तमा । तिलोत्तमा नगरपालिकामा आइतबारदेखि प्रथम तिलोत्तमा नगरपालिका वडास्तरीय पुरुष भलिबल प्रतियोगिता सुरु भएको छ । नगर खेलकुद विकास समितिले आयोजना गरेको प्रतियोगिता मंसिर ३० गतेसम्म चल्ने छ । प्रतियोगितामा ९ टिमको सहभागिता रहेको छ ।

वडा नं. ८ ले संयोजन गरेको प्रतियोगिता लाङ्घाली युवा परिवार र ज्योती जागृति आमा समूहको चार नंबरमा सञ्चालन भएको भएको हो । प्रतियोगितामा विजेताले ५० हजार पुरस्कार राशीसहित गोल्ड मेडल र प्रमाणपत्र प्राप्त गर्ने नगर खेलकूद विकास समितिका संयोजक राजेन्द्र गुरुङले जानकारी दिनुभयो ।
यसैगरी दोस्रो र तेस्रो हुने टिमले क्रमशः ३० हजार तथा २० हजार नगद पुरस्कार प्राप्त गर्ने आयोजकले जनाएका छन् । प्रतियोगितामा बेस्ट प्लेयर, बेस्टर सेटर, बेस्टर ब्लकर, बेस्ट स्पाइकर, बेस्ट सर्भर तथा अनुशासित खेलाडीलाई सम्मान गरिने संयोजक गुरुङले बताए ।

प्रतियोगिताको उद्घाटन कार्यक्रममा नगर प्रमुख बासुदेव घिमिरेले अब्बल खेलाडीको पहिचान र नयाँ खेलाडीलाई प्रोत्साहन गर्न प्रतियोगिता सफल हुने विश्वास व्यक्त गर्नुभयो । प्रतियोगितापछि नगरस्तरीय भलिबल टिम छनौट गरिने संयोजक गुरुङले जानकारी दिनुभयो ।
खेलकुद नगर संयोजक राजेन्द्र गुरुङको अध्यक्षता, दिपक खनालको सञ्चालन तथा मिलन रानाको स्वागतमा उद्घाटन कार्यक्रम भएको हो । यसैबीच खेलकुद समितिले यस आर्थिक वर्षमा अन्य खेलकूद गतिविधिहरु समेत हुने जानकारी गराएको छ । वैशाखसम्म विभिन्न ९ वटा प्रतियोगिता गर्ने तयारी समितिले गरेको हो । मंसिरमा भलिबल प्रतियोगिता आयोजना गरिएकोमा पुस महिनामा व्याटमिन्टन तथा विद्यालय स्तरीय छात्रछात्रा भलिबल र माघ महिनामा उपमेयर कप खुल्ला भलिबल प्रतियोगिता आयोजना गरिने समितिले जनाएको छ ।


यसैगरी माघ महिनामैं मेयर कप रनिङ्ग शिल्ड फुटबल, फागुनमा विद्यालय स्तरीय फुटबल तथा क्रिकेट आयोजना हुने बताउँदै संयोजक गुरुङले फागुन महिनामै ग्रास रुट स्तरीय २ दिने फुटबल तालिम सञ्चालन हुने जानकारी दिनुभयो ।


यस्तै वैशाख महिनामा वडा स्तरीय क्रिकेट प्रतियोगिता गर्ने तयारी समितिको छ । वर्षभरी सञ्चालन गरिने प्रतियोगिताले नगरको खेल क्षेत्रको विकासमा सहयोगी भूमिका निर्वाह गर्ने उहाँले बताउनुभयो । स्वास्थ्यका लागि खेलकूद :राष्ट्रका लागि खेलकूद तथा सबैका लागि खेलकूद भन्ने मूल नाराका साथ प्रतियोगिताहरु आयोजना गर्न लागिएको हो ।

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु