तिलोत्तमा पुरुष भलिबलको उपाधि वडा नम्बर ४ लाई

खबरपथ संवाददाता
३० मंसिर २०७७, मंगलवार १९:३२

तिलोत्तमा । तिलोत्तमा सञ्चालित प्रथम तिलोत्तमा वडास्तरीय पुरुष भलिबल प्रतियोगिताको उपाधि वडा नम्बर ४ ले हात पारेको छ । मंगलबार भएको फाइनलमा वडा नम्बर २ लाई ३–२ सेटमा पराजित गर्दै वडा नम्बर ४ ले उपाधि हात पारेको हो । बिजेताले उपाधिसँगै नगद ५० हजार, गोल्डमेडल तथा प्रमाणपत्र हात पारेको छ भने दोस्रो भएको वडा नम्बर २ ले ३० हजार नगद प्राप्त गरेको छ । त्यस्तै मंगलबारै तेस्रो स्थानका लागि भएको प्रतिष्पर्धामा वडा नम्बर ८ ले वडा नम्बर १ लाई ३–२ सेटले हराएको छ । उसले नगद २० हजार हात पारेको हो ।

प्रतियोगितामा विधागत बेस्ट डिफेन्सतर्फ वडा नम्बर ४ का शिवराज गलामी, बेस्ट सर्भर वडा नम्बर २ का प्रेमबहादुर भण्डारी, बेस्ट सेटरमा वडा नम्बर ४ का प्रकाश फाल, बेस्ट स्पाइकरमा वडा नम्बर २ का एलिस थापा, बेस्ट ब्लकर वडा नम्बर १ का वेष्टर्न थापा, बेस्ट प्लेयर वडाद नम्बर ४ का सुरज खत्री र सबैभन्दा अनुशाषित खेलाडीमा वडा नम्बर ८ का दिपेश थापा घोषित भएको नगर खेलकूद विकास समितिका संयोजक राजेन्द्र गुरुङले जानकारी दिनुभयो।

नगर खेलकुद विकास समितिले आयोजना गरेको प्रतियोगितामा ९ टिमको सहभागिता रहेको थियो । वडा नं. ८ ले संयोजन गरेको प्रतियोगिता लाङ्घाली युवा परिवार र ज्योती जागृति आमा समूहको चार नम्बरमा सञ्चालन भएको हो । प्रतियोगितामा विजेतालाई नगर उपप्रमुख जगेश्वरदेवी चौधरीले पुरस्कार तथा प्रमाणपत्र प्रदान गर्नुभएको थियो ।

प्रतियोगिता समापनका अवसरमा वडा नम्बर ८ का अध्यक्ष कृष्ण पौडेल, यसैगरी  खेलकूद विकास समिति सदस्य दिपक खनाल लगायतले पनि मन्तव्य व्यक्त गर्नुभएको थियो । प्रतियोगितापछि नगरस्तरीय भलिबल टिम छनौट गरिने दिपक खनालले जानकारी दिनुभयो । यसैबीच खेलकुद समितिले यस आर्थिक वर्षमा अन्य खेलकूद गतिविधिहरु समेत हुने जानकारी गराएको छ । वैशाख सम्म विभिन्न ९ वटा प्रतियोगिता गर्ने तयारी समितिले गरेको हो । मंसिरमा भलिबल प्रतियोगिता आयोजना गरिएकोमा पुस महिनामा व्याडमिन्टन तथा विद्यालय स्तरीय छात्रछात्रा भलिबल र माघ महिनामा उपमेयर कप खुल्ला भलिबल प्रतियोगिता आयोजना गरिने समितिले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु