पत्रकार महासंघ पाल्पाले मनायो २९ औं स्थापना दिवस

खबरपथ संवाददाता
१९ पुष २०७७, आईतवार २०:३४

पाल्पा  । नेपाल पत्रकार महासंघ पाल्पाले आफ्नो २९ औं स्थापना दिवस मनाएको छ । आइतबार तानसेनमा महासंघमा आवद्ध सदस्यहरूको सहभागितामा स्थापना दिवस मनाइएको हो । पत्रकार महासंघ पाल्पा शाखा २०४९ पुष १९ गते स्थापना भएको हो । सोही स्थापनाको दिनलाई स्थापना दिवसको रूपमा वर्षेनी विभिन्न कार्यक्रमको आयोजना गर्ने गरिएको महासंघका अध्यक्ष राजेश कुमार अर्यालले बताउनुभयो ।

आइतबार आयोजित स्थापना दिवससँगै आयोजना गरिएको ‘कोभिड १९ र पाल्पाको पत्रकारिताको अवस्था’ विषयक अन्तरक्रियामा पाल्पाली पत्रकारीताको संक्षिप्त गौरवगाथा सहितको प्रस्तुती राख्दै अध्यक्ष अर्यालले कोभिड जोखिमका बीच पनि निरन्तर सक्रियताका लागि सवै पाल्पाली पत्रकारलाई धन्यवाद दिनुभयो । उहाँले एकता, साझा र संस्थागत भावना जागृत गराउन महासंघले निरन्तर पत्रकारमैत्री कार्यक्रम गर्नेमा आश्वस्त पार्नुभयो ।

कार्यक्रमका सहभागी पत्रकारले अहिले अन्य क्षेत्रमा जस्तै कोभिड १९ को महामारीको समयमा पत्रकारहरूले संकटको सामना गर्नुपरेको बताउनुभयो । यस्तो परिवेशमा पनि कोरोना जोखिमसँगै जनतालाई सूचना र सन्देश प्रवाह गर्ने पत्रकारिता जगतको कार्यक्रममा स्थानीय सरकार, सरोकारवाला निकायले चासो बढाउनुपर्नेमा सहभागीले जोड दिए । साथै कोरोनाको तीव्र जोखिम र संकटकाबीच अझ जिम्मेवार बनेर पत्रकारिता पेशालाई मर्यादित एवम् सञ्चार गृहमा क्रियाशिल पत्रकारलाई थप सेवा, सुविधा र अवसर सिर्जना गर्नुपर्ने अवस्था रहेको सहभागी पत्रकारको भनाई थियो ।

स्थापना दिवसको उद्घाटन कार्यक्रमका प्रमुख अतिथि तथा महासंघ पाल्पाका संस्थापक अध्यक्ष मेघराज शर्माले सूचना तथा सञ्चारका माध्यमबाट सुसुचित गर्ने मियो पत्रकार भएकोले समाजप्रति जिम्मेवार भएर मर्यादित पत्रकारितामार्फत समाज परिवर्तनमा लाग्न सुझाव दिनुभयो । पत्रकारहरूमा समय समयमा छलफल र विचारको आदान प्रदान गरिनुपर्नेमा शर्माको जोड थियो ।

यस्तै महासंघका पूर्व अध्यक्ष झपेन्द्र गहिरेले पत्रकारहरूमा एकता र सहकार्यको भावना रहिरहनुपर्नेमा जोड दिनुभयो । उहाँले पत्रकार महासंघको स्थापना दिवस मनाइनु भनेको संस्थापकहरूप्रतिको सम्मान भएको भन्दै सहकार्य, पत्रकार हित कोष, क्षमता अभिवृद्धिमा संस्थाले चासो बढाउनुपर्ने बताउनुभयो । कार्यक्रममा महासंघकी संस्थापक सदस्य मन गहिरे, पत्रकार जीवलाल सुवेदी, देव पचभैया, यज्ञमूर्ति तिमिल्सीना लगायतले संस्थागत र पत्रकारिताको विकासमा महासंघले प्रभावकारी कार्यक्रमहरू सञ्चालन गर्नुपर्नेमा जोड दिनुभयो । स्थापना दिवस शाखा अध्यक्ष राजेशकुमार अर्यालयको अध्यक्षता, उपाध्यक्ष भरत शर्माको स्वागत मन्तव्य र सचिव किरण कौशलको सञ्चालनमा भएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*