• १० कार्तिक २०८१, शनिबार
  • Saturday 26th October 2024

    प्रतिनिधि सभा पुनःस्थापना नभए देश अस्थिरतामा फस्छ : नेता भूसाल

    खबरपथ संवाददाता
    २२ पुष २०७७, बुधबार २२:३०

    बुटवल  । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य घनश्याम भुसालले प्रतिनिधि सभा पुनःस्थापना नभए देश अस्थिरता र अराजकताको दुस्चक्रमा फस्ने बताए । संविधान, संघीय लोकतान्त्रिक गणतन्त्र लगायतका आन्दोलनका उपलब्धी रक्षाका लागि प्रतिनिधि सभा पुनस्थापनाको विकल्प नभएको नेता भुसालले बताए । संसद विघटनसम्बन्धी मुद्दामा अदालतले जति ढिलाई गर्छ मुलुकलाई राजनीतिक, आर्थिक, सामाजिक रुपमा त्यति बढी क्षति हुने नेता भुसालले औंल्याए । ‘संसद पुनःस्थापना गर्न नसक्ने हो भने संविधान उल्लंघन बढ्छ, संविधानविरोधी सल्बलाउंछन्’–भुसालले भने–‘संसद पुनःस्थापना हुंदा मात्रै संविधानको रक्षा हुन्छ र मुलुक सही ट्रयाकमा फर्किन्छ ।’

    प्रतिनिधि सभा विघटन सम्बन्धी मुद्दामा सर्वोच्च अदालतले किन ढिलाई गरिरहेको भन्ने प्रश्न गरेका छन् । प्रतिनिधि सभा विघटनको मुद्दा प्रथम दृष्टिमै असंवैधानिक र बदरभागी हुंदाहुंदै पनि अदालतले ढिलाई गर्नुले अदालतमाथि प्रश्न उठ्ने बताए । ‘प्रतिनिधि सभा विघटन अदालती व्यवस्था अनुसार प्रथम दृष्टिमै असंवैधानिक र बदरभागी छ भन्ने देखिन्छ’–प्रेस संगठन रुपन्देहीले तिलोत्तमामा प्रतिनिधि सभा विघटन सम्बन्धी गरेको अन्तरक्रियामा नेता भुसालले भने–‘प्रधानमन्त्री र राष्ट्रपतिको निर्णय संविधानको बर्खिलाप छ,  लोकतन्त्र, वामपन्थ, समाजवाद विरुद्धको प्रतिगामी र सर्वसत्तावादी कदम हो तर अदालतमा किन ढिलाई हुंदैछ ?’
    नाकाबन्दीमा ओलीले लिएको अडान र अरु सन्दर्भ गांसेर संसद विघटनलाई पनि ठीक हो भन्ने पुष्टी गर्ने कोशिस भएको भन्दै भुसालले मिडिया, नागरिक समाज र बुद्धिजिवीले यसलाई चिर्नुपर्ने बताए । प्रधानमन्त्री ओली पक्षले सत्ताको दुरपयोग गरी विभिन्न प्रलोभन देखाएर सांसद किनबेचको खेलमा लागेर गणतन्त्रलाई नै विकृत बनाएको आरोप लगाए ।

    नेकपा लुम्बिनी प्रदेश सचिवालय सदस्य तथा रुपन्देही जिल्ला सचिव नारायण जि.सी. (निर्मल) ले केपी ओली गणतन्त्रको पक्षधर नभएको बताए । उनले ओलीले निरकुंश शैलीमा प्रतिनिधिसभा विघटन गराएको बताए ।

    तिलोत्तमा नगरपालिकाका प्रमुख बासुदेव घिमिरेले प्रतिनिधिसभा विघटनको कदम अदालत सदर गर्ने कुरा आफुलाई नलागेको बताए । उनले संसद विघटन असंवैधानिक कदम भएको र संविधानमा नभएको अधिकार प्रधानमन्त्री ओलीले प्रयोग गर्नुभएको बताए ।

    नेपाल पत्रकार महासंघ रुपन्देहीका पूर्व अध्यक्ष तथा संविधानसभा सदस्य विनोद पहाडीले संविधान जोगाउन लाग्नुपर्ने बताए ।

    प्रेस चौतारी नेपाल, राष्ट्रिय समाचार समिति (रासस)का पूर्व केन्द्रीय अध्यक्ष तथा अधिवक्ता बालकृष्ण चापागाईले संसद विघटन जस्तो गलत कदमको समर्थन गर्नु पनि आत्मघाती भएको बताए । उनले ओलीले चालेको कदम महेन्द्र, विरेन्द्र, ज्ञानेन्द्र र गिरिजा प्रसाद भन्दा खतरनाक भएको बताए ।

    नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य बसन्त गिरीले प्रतिनिधिसधा विघटनबारे पत्रकार महासंघले असंवैधानि भनिसकेको बताए ।  सम्पादक समाज नेपालका केन्द्रीय सदस्य नारायण प्रसाद सापकोटाले ओली नेतृत्वको सरकारले असंवैधानिक कदम चालेको बताए । नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष यानेन्द्र जि.सी.ले प्राप्त उपलब्धीलाई रक्षा गर्नु नै अहिलेको आवश्यकता भएको बताए ।

    अग्रज पत्रकार मदनलाल पौडेलले आफुले संविधान १० पटकसम्म पढे पनि संसद विघटन संविधानमा नरहेको बताए । उनले यस्तो काम गर्ने व्यक्ति प्रजातान्त्रिक र कम्युनिष्ट हुन नसक्ने दावी गरे ।

    प्रेस संगठन नेपाल रुपन्देहीका सह–संयोजक कमल रायमाझीको अध्यक्षता, केन्द्रीय सदस्य रुद्रहरि कुंवरको स्वागत तथा रुपन्देही जिल्ला सदस्य नरेश के.सी.को सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

     

     

    यसमा तपाइको मत

    Your email address will not be published. Required fields are marked *


    *