बुटवल – मोतीपुर जोड्ने पुल औपचारीक रुपमा सञ्चालनमा

खबरपथ संवाददाता
१५ माघ २०७७, बिहीबार ०८:५८

बुटवल । बुटवल र मोतीपुर जोड्ने तिनाउ नदीमा बनेको मगरघाट पुल औपचारीक रुपमा सञ्चालनमा आएको छ । बुटवल योगिकुटी हुंदै मोतीपुर तथा रानीगञ्जको शिवनगर जाने मगरघाट पुलको बुधबार एक कार्यक्रमका बीच नेपाल सरकारका अर्थमन्त्री विष्णु पौडेलले उदघाटन गर्नुभएको छ । १ वर्ष पहिले निर्माणाधिन पुलको बुधबार उदघाटन भएको हो ।

बुटवलको योगीकुटीबाट मगरघाटको पुल हुँदै तिनाउ पारि रानीगञ्जको शिवनगर पुगिन्छ । तिनाउ नदीमा पुल नबन्दा शिवनगर रानीगञ्ज क्षेत्र बुटवलबाट अलग बस्तीजस्तो देखिन्थ्यो । सुकुम्वासी बस्ती रहेको त्यहाँ यसअघि सुनसान जस्तै थियो भने स्थानीयबासीहरु दैनीक मजदुरीका लागि घण्टौ लगाएर बुटवल आउन बाध्य थिए ।

मगरघाटको पुल उद्घाटन गर्दै अर्थमन्त्री पौडेलले बुटवलसँग तिनाउ पारिका बस्तीको विभेद हटेको बताउनुभयो । पौडेलले  भने, ‘विकासको महाअभियान शुरू भयो । यसको संरक्षण र सदुपयोगको दायित्व स्थानीयलाई छ । विकासको यो अभियानलाई निरन्तर अगाडि बढाउँछौँ ।’

उहाँले जनताको विकासको चाहनालाई सार्थक बनाउँदै जाने प्रतिबद्धता समेत व्यक्त गर्दै तिनाउ नदी आसपासको क्षेत्रलाई बस्नलायक बस्तीको रूपमा विकास गर्ने समेत आश्वासन दिनुभयो ।  लामो समयसम्म देवीनगरमा तिनाउमाथि झोलुंगे पुल थियो । झोलुंगे पुलबाट पैदलयात्रीलाई सहज भएपनि सवारीबाट ओहोरदोहोर गर्न भने मोतीपुरवासीलाई बेलबास, जीतगढी भएर घुमेर बुटवल आउनुपर्दथ्यो ।

बुधबार उदघाटन भएको मगरघाटको पुल २०७३ सालमा शुरू गरेर २०७६ सालमा निर्माण सम्पन्न भएको हो । योगीकुटी र शिवनगर जोड्ने १ सय ८० मिटर लम्बाइ र ११ मिटर चौडाइको यो पुलको लागत २१ करोड ४९ लाख रहेको छ । यो पुलले बुटवल वडा नम्बर ११ र १६ जोड्ने सडक डिभिजन कार्यालय बुटवलका प्रमुख जयलाल मरासिनीले जानकारी दिनुभयो ।

बुटवलका तिनाउ र दानव नदीमा निर्माण सम्पन्न भएका ३ ठूला पुलको अर्थमन्त्री विष्णु पौडेलले बुधबार उद्घाटन गर्नुभएको छ । बुधवार  तिनाउ नदीमा रहेको मगरघाटस्थित तिनाउ पुल, देवीनगरस्थित तिनाउ पुल र नयाँगाउँस्थित दानव नदीमा रहेको पुल उद्घाटन गर्नुभएको डिभिजन सडक कार्यालय बुटवलका सूचना अधिकारी ई. कृष्ण कुँवरले जानकारी दिनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*