आजबाट पत्रकारलाई कोरोनाविरुद्धको खोप

खबरपथ संवाददाता
२६ माघ २०७७, सोमबार ०८:३०

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस (कोभिड–१९ विरुद्ध) को खोप पत्रकारहरुलाई उपलब्ध गराउने भएको छ । पहिलो चरणमा प्राथमिकतामा परेका व्यक्तिलाई लगाइए पछि दोस्रो चरणमा पत्रकारलाई लगाउने तयारी भएको हो । भारत सरकारले अनुदानमा उपलब्ध गराएको ‘कोभिशिल्ड’ खोप सोमबारबाट सरकारले पत्रकार र कूटनीतिज्ञ तथा कुटनीतिक नियोगका कर्मचारीहरुलाई लगाउन थालेको छ ।

उपत्यकाका चारवटा अस्पतालबाट कूटनीतिक नियोग र संयुक्त राष्ट्र संघका कर्मचारी र पत्रकारसहित भण्डै १९ हजारलाई कोरोना खोप दिइने स्वास्थ्य सेवा विभागले जनाएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा.समीरकुमार अधिकारीले सोमबार देखि पाँच दिनसम्म अग्रपंक्तिमा काम गर्ने पत्रकारलाई निजामती कर्मचारी अस्पताल नयाँ बानेश्वरबाट खोप दिइने जानकारी दिए । खोप लगाउन पत्रकारले आफ्नो परिचयपत्र खुल्ने गरी सूचना विभागको प्रेस पास लिएर जानुपर्ने हुन्छ ।

स्वास्थ्य मन्त्रालयले सञ्चार मन्त्रालयसँग देशभरिका पत्रकारको विवरण मागेको छ र सोही विवरण खोप सचिवालयमा उपलब्ध गराइनेछ । देशभर करिब १३ हजार पत्रकार रहेका छन् ।

पहिलो चरणको खोप एक लाख ८४ हजार ८५७ जनालाई लगाइसकिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*