बुटवलमा पहिलो पटक ‘विद्यार्थीसँग नेप्से’ विषयक सेमिनार

खबरपथ संवाददाता
१६ फाल्गुन २०७७, आईतवार १९:०६

बुटवल । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले काठमाडौं उपत्यका बाहिर बुटवलमा पहिलो पटक आइतबार ‘विद्यार्थीसँग नेप्से’ विषयक सेमिनार कार्यक्रम सम्पन्न गरेको छ । नेप्सेको आयोजना र एक्सिस कलेज जानकीनगर, रूपन्देहीको सहकार्य तथा लिन्च स्टक मार्केटको समन्वयमा कार्यक्रम भएको हो । सेमिनारमा नेपालको पूँजी बजारका ‘इस्यू एण्ड फयाक्ट’ र ‘नेप्से अनलाइन टेनिङ सिस्टम’ विषय दुई वटा कार्यपत्र प्रस्तुत गरिएको थियो ।

पूँजी बजारका ‘इस्यू एण्ड फयाक्ट’ विषयक पहिलो कार्यपत्र प्रस्तुत गर्दै नेप्सेका प्रबन्धक निरञ्जन फुयालले नेपालको वर्तमान पूँजीबजारलाई अन्तर्राष्ट्रिय पूँजीबजार संग तुलना गर्दै बजारमा वित्तीय साक्षर लगानीकर्ताको आवश्यकता रहेको बताए । उनले यसलाई विद्यार्थीहरुको सक्रिय सहभागिता मार्फत परिपूर्ति गर्न सकिने बताए ।

फुयालले नेपाली पूँजी बजारमा नयाँ संरचना तथा संस्थाहरुको सहभागिता अझै आवश्यक रहेकोले विद्यार्थीहरुका लागि थप रोजगारको क्षेत्र सृजना हुने बताए । उनले सानो लगानीले विद्यार्थीहरुले लगानी पोर्टफोलियो तयार गर्न सुझाव दिए । साथै पूँजी बजारको लगानी जोखिम मुक्त नभई जोखिम युक्त भएकोले विस्तृत अध्ययन पछि मात्र लगानी गर्न फुयालले आग्रह गरे ।
नेप्से अनलाइन ‘टेनिङ सिस्टम’ विषयको कार्यपत्र प्रस्तुत गर्दै वरिष्ठ अधिकृत प्रभाकर घिमिरेले नेप्सेको अनलाइन कारोवार प्रणाली प्रयोग गर्दा ध्यान दिनुपर्ने विषयका बारेमा प्रकाश पारेका थिए । घिमिरेले सबै विद्यार्थीहरुलाई बजारमा उपलब्ध प्रविधि प्रयोग गर्दै सचेत भएर लगानी गर्न सुझाव दिए । साथै उनले बजारमा ‘टेक्नोफेन्डली’ भएकोले आफुले पनि प्रविधि प्रयोग गर्न र अरूलाई पनि प्रविधिको प्रयोग गरेर बजारमा लगानी गर्न सुझाव दिए ।

उक्त सेमिनारमा एक्सिस कलेजका २ सय भन्दा बढी व्यवस्थापन संकायका विद्यार्थीहरुको सहभागिता रहेका थियो । कार्यक्रम एम्सिस कलेजका अध्यक्ष होमराज बस्यालको सभापतित्वमा भएको हो । सेमिनारमा विद्यार्थीले उठाएका प्रश्नको जवाफ नेप्सेका प्रवन्धक निरन्जन फुयाल तथा वरिष्ठ अधिकृत प्रभावकर घिमिरेले दिएका थिए । कार्यक्रममा विद्यार्थीहरुको उत्साहजनक सहभागिता रहेको थियो । कार्यक्रममा एक्सिस कलेजका प्राचार्य रामप्रसाद अर्यालले कलेजले विषयवस्तु भन्दा बाहिरको विषयमा पनि ज्ञान बढाउन विभिन्न कार्यक्रम आयोजना गर्दै आइएको बताए । त्यही मध्येको कार्यक्रम अन्तर्गत ‘विद्यार्थीसँग नेप्से’ पनि रहेको अर्यालले जानकारी गराए । कार्यक्रममा कलेजका सञ्चालक गोपाल प्रसाद पाण्डे, सह प्राचार्य घनश्याम उपाध्याय, प्राध्यापक जीवनकुमार पौडेल, अमित न्यौपाने, विष्णु ढुंगानाको सहभागिता रहेको थियो । प्राध्यापक विष्णु प्रसाद गैरकोे सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*