बुटवल । राष्ट्रिय दलित पत्रकार संघ नेपालको प्रथम राष्ट्रिय महाविधेशन बुटवलमा हुने भएको छ । आगामी फागुन २८, २९ र चैत १ गतेसम्म बुटवलमा महाधिवेशन हुन लागेको संघले जनाएको छ ।
महाधिवेशनमा देशका ७७ वटै जिल्लाबाट करिब ४ सय पत्रकारहरुको सहभागिता हुने संघका केन्द्रीय अध्यक्ष विनोद पहाडीले बताए ।
कार्यशालामा नेपाल पत्रकार महासंघका पूर्वसभापति तारानाथ दाहाल, विष्णु निष्ठुरी, प्रेस काउन्सिलका निवर्तमान कार्यबाहक अध्यक्ष किशोर श्रेष्ठ लगायत सहभागी हुने पहाडीले बताए ।
यस्तै महाधिवेशनमा टीआर विश्वकर्मा स्मृति राष्ट्रिय पत्रकारिता पुरस्कार, देवव्रत परियार (डीवी परियार) स्मृति राष्ट्रिय पत्रकारिता पुरस्कार, परशु सवरी पत्रकारिता पुरस्कार र राममाया च्यामे लोक पुरस्कार वितरण गरिने छ ।
महाधिवेशनको उद्घाटन पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गर्ने कार्यक्रम तय भएको पहाडीले बताए ।
संघको हालसम्म ६५ जिल्ला शाखा, ७ प्रदेश र काठमाडौं उपत्यका समितिहरु क्रियाशील रहेका र देशभर झण्डै १५ सय दलित समुदायका पत्रकारहरु आवद्ध भइसकेका संघले जनाएको छ ।
महाधिवेशनले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता, सामाजिक न्याय, समावेशी विकासका साथै सूचनाको हक कार्यान्वयनको सवालमा बुटवल घोषणापत्र जारी गर्ने संघका रुपन्देही सचिव टंक सुनारले बताए ।