जेठ १३ गतेसम्म उपत्यकामा निषेधाज्ञा थपियो
काठमाडौं । उपत्यकामा जारी निषेधआज्ञा आगामी जेठ १३ गते सम्म थप गरिएको छ । काठमाडौं उपत्यकाभित्रका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले निषेधाज्ञा १५ दिन थप गर्ने निर्णय गरेको हो ।
जिल्ला प्रशासन कार्यालय काठमाडौंमा बसेको बैठकले कोरोना भाइरसको महामारी अझै नियन्त्रणमा आउन नसकेको निस्कर्ष निकाल्दै निषेधाज्ञाको अवधी थप गर्ने निर्णय गरेको हो ।
जारी निषेधाज्ञामा बिहान १० बजेसम्म किराना पसल र डिपार्टमेन्ट स्टोर खोल्न दिने निर्णय गरिएको छ । ९ बजेसम्म मात्र अत्यावश्यक पसल खुल्दा भीडभाड बढेको निस्कर्ष निकाल्दै १ घण्टा थप गर्ने निर्णय गरिएको हो ।
बैठकले विकास निर्माणका सबै काम समेत रोक्ने निर्णय गरेको छ । सीडीओहरुको बैठकले राष्ट्रिय प्राथमिकता प्राप्त विकास आयोजना बाहेकका अन्य सबै निर्माण रोक्ने निर्णय गरेको छ । यसैगरी विवाह, ब्रतबन्ध र भोजमा समेत कडाइ गरिएको छ । घर मै कार्यक्रम गर्दा पनि १० जना भन्दा बढी सहभागी हुन नपाइने निर्णय भएको छ ।
यस अघि बैशाख १६ देखि २२ गतेसम्म पहिलो निषेधाज्ञा जारी गरिएको थियो । त्यस पछि निषेध आज्ञा थप गरि २९ गते सम्म पुर्याइएको थियो ।