नेपालमा पछिल्लो २४ घण्टामा थप ९ हजार ४८३ जनामा कोरोना पुष्टि, २२५ जनाको मृत्यु
काठमाण्डौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ९ हजार ४८३ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको २० हजार ५९६ जनाको पीसीआर परीक्षण र ७२० जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा गरी ९ हजार ४८३ जनामा कोरोना पुष्टि भएको हो । यससँगै सक्रिय संक्रमितको संख्या ९७ हजार ८ पुगेको छ ।
त्यसैगरी थप २२५ जना कोरोना संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा मृत्यु भएका र २४ घण्टामा विवरण प्राप्त भएकाहरु गरी जम्मा २२५ जना कोरोना संक्रमितको मृत्यु भएको हो ।
प्रवक्ताका अनुसार सीसीएमसी, नेपाली सेनाद्धारा कोभिड १९ को शव व्यवस्थापन तथ्यांकको आधारसहित सो संख्यामा मृतक थपिएका हुन् । यससँगै हालसम्म कोरोनाले ज्यान गुमाउनेको संख्या ४ हजार ८४ पुगेको मन्त्रालयले जानकारी दिएको छ । त्यस्तै पछिल्लो २४ घण्टामा ५२२५ जना संक्रमण मुक्त भएका छन् ।