अक्सिजन प्लान्ट स्थापनाको लागि लायन्स क्लब अफ भैरहवा ग्रीनसिटीले आर्थिक सहयोग गर्ने
भैरहवा । अक्सीजन अभावको कारण कोरोना संक्रमीतको उपचारमा समस्या भईरहेको बेला लायन्स क्लब अफ भैरहवा ग्रीनसिटीले भीम अस्पताल भैरहवामा अक्सीजन प्लान्ट स्थापनाको लागि १ लाख १ हजार सहयोग गर्ने भएको छ ।
संस्थाका अध्यक्ष शिबनाथ गुप्ता सहितको लायन्सको टोलिले अस्पताल व्यवस्थापन समितीका अध्यक्ष नारयण प्रसाद भन्डारी, मेडिकल सुपरीटेन्डेट डा. सकुन्तला गुप्ता, अस्पतालका पुर्व अध्यक्ष हितराज पन्थि लगायत सँगको छलफल पछि अस्पतालमा मुख्य रुपमा अक्सीजनको अभाव देखिएको भन्दैं उक्त सहयोग गर्ने निर्णय गरेको क्लबका प्रथम उपाध्यक्ष गोबिन्द प्रसाद गिरीले बताए ।
लायन्स क्लब अफ भैरहवा ग्रीनसिटीले कोरोना महमारी विरुद्धमा सरकारी तथा गैरसरकारी निकायसँग हातेमालो गरेर अगाडी बढ्ने क्रममा उक्त सहयोग गरेको क्लबका अध्यक्ष शिबनाथ गुप्ताले बताए । उनले भने, ‘बेड नपाएता पनि कोभिढ संक्रमीतहरु भूईमा समेत बसेर अक्सीजनको भरमा उपचार गराईरहेको देखेपछि हामीले मानविय भावले उक्त सहयोग गर्ने निधो गरेका हौं । ”
लुम्बिनी प्रदेश सरकारले कोभिढ अस्पतालको रुपमा भीम अस्पताललाई विकास गरिरहेको भएता पनि प्रायाप्त अक्सीजन नहुदा धेरै विरामीको उपचारमा समस्या भईरहेको छ । सरकारी अस्पतालमा सेवाग्राहिको चाप पनि बढीरहेको बेला उक्त अस्पतालले भूईमा समेत राखेर कोभिढ संक्रमीतको उपचार गराईरहेको अस्पतालको मेसू डा. गुप्ताले बताईन् ।
शनिबार मात्रै अस्पतालको व्यवस्थापकीय जिम्मेवारी बहन गरेका अस्पताल विकास समितीका अध्यक्ष नारयण प्रसाद भन्डारीले लायन्स क्लब अफ भैरहवा ग्रिनसिटीले अक्सिजन प्लान्ट स्थापनाको लागि प्रोत्साहन स्वरुप गरेको सहयोग उल्लेखनीय रहेको बताए । उनले भने, ‘यस अस्पतालमा आउने हरेक विरामीलाई आवश्यक अक्सीजन, औषधी र चिकत्सकीय सेवामा कमि हुन नदिन हामी लागि परेका छौं । यहाँ मुख्य समस्या अक्सीजन नै हो । ग्रीनसिटीले अक्सीजन व्यवस्थापनमा हौसला प्रदान गर्दै गरेको सहयोगले हामीलाई पनि अक्सीजन प्लान्ट राख्न प्रोत्साहित गरेको छ । ”
कोरोनाको पहिलो लहरमा तपाईको मास्क खै भन्ने अभियान चलाएर जिल्ला व्यापाी सचेतना मूलक कार्यक्रम गरेको उक्त संस्थाले सत्यसाई बृद्धाश्रममा बसिरहेका बृद्धा बुबा-आमाको कोरोना विमा समेत गरिदिएको थियो ।
उक्त संस्थाले कोरोनाको दोस्रो लहर चलिरहदा युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज शिक्षण अस्पताल भैरहवामा कोभिढ संक्रमीत विरामीका आफन्त तथा कुरुवालाई विगत एक हप्तादेखि निशुल्क खाना खुवाउने कार्यक्रम समेत चलाईरहेको छ । उक्त कार्यक्रमबाट अहिले सम्म १५ सय भन्दा बढी लाभान्वीत भएको कार्यक्रम संयोजक समेत रहेकी संस्थाको युथ निर्देशक संगीता जिसीले बताईन् ।
लायन्स क्लब अफ डिस्ट्रीक ३२५ बि टू मा आबद्ध लायन्सहरु मध्ये सबैभन्दा धेरै चार्टड सदस्य रहेको लायन्स क्लब अफ भैरहवा ग्रीनसिटी स्थापना कालदेखि विभिन्न मानविय सेवामा सर्मर्पित रहेर काम गरिरहेको संस्थाका तृतिय उपाध्यक्ष मनोज क्षेत्रीले बताए । उनले भने, ‘यो कोरोना महामारीमा सबैजना घरभित्रै छन् तर हामी अस्पतालमा अक्सीजनको जोहो गर्न र अस्पतालमा आएका विरामी तथा तीनका आफन्तलाई सहयोग गर्न दिनरात खटिरहेका छौं ।
”