कोरोना नियन्त्रणका लागि पाल्पाका पालिकाहरूको सक्रियता

भोजराज भट्टराई
२ जेष्ठ २०७८, आईतवार १५:१६

पाल्पा । कोरोना महामारी रोकथाम र नियन्त्रणका लागि पाल्पाका पालिकाहरूले सक्रियता बढाएका छन् । जिल्लामा रहेका २ वटा नगरपालिका र ८ गाउँपालिकाले अक्सिजन सहितको आइसोलेसन कक्ष निर्माण, कोभिड संक्रमितको घरदैलोमा स्वास्थ्य सामग्रीसहित परामर्श सेवा र परीक्षण दायरा बढाउँदै सक्रियता जनाएका हुन् ।

‘कोरोना रोकथाम र नियन्त्रणका लागि तानसेन नगरपालिकाको १४ वटै वडा कार्यालयहरूको सक्रियता बढेको छ’ नगरपालिका प्रवक्ता दामोदर घिमिरेले भन्नुभयो, ‘सवैजसो वडामा रहेका कोभिड संक्रमितका बिरामीहरूलाई नगरपालिकाले चिकित्सकसहित घरदैलोमा पुगेर स्वास्थ्य उपचार तथा परामर्श सेवा दिइरहेको अवस्था छ ।’ प्रवक्ता घिमिरेका अनुसार नगरपालिकाले अर्गली क्याम्पस र तानसेन त्रिवी क्याम्पसमा २०/२० बेड तयारी गरेको छ । ‘फैलावटको अवस्था हेरेर मिसन आसपास र दमकडामा होल्डीङ बेसको बेड तयार गरिनेछ ।’ घिमिरेले होल्डिङ बेसका आइसोलेसन कक्षबाट सिरियस बिरामीलाई सरकारी अस्पतालबाट उपचार गरिने जानकारी दिनुभयो । उहाँका अनुसार शनिबार सम्म तानसेन नगरपालिकामा ६५९ सक्रिय संमित छन् । जम्मा ७६५ संक्रमित मध्ये अन्य निको भएका र बाँकी संक्रमित मध्ये ९ जना मिसन अस्पताल, ५ जना परबास अस्पताल र अन्य होम आइसोलेसनमा रहेको प्रवक्ता घिमिरेले जानकारी दिनुभयो । शनिबार सम्म तानसेन नगरपालिकामा कोभिड १९ संक्रमणका कारण १२ जनाले ज्यान गुमाएका छन् ।

यस्तै गरी बगनासकाली गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख मणिराम अधिकारीले गाउँपालिकाबाट सञ्चालित आइसोलेसनमा शनिबार सम्म ९ जना कोभिड संक्रमित बिरामी भर्ना भएको सामाजिक सञ्चाल मार्फत जानकारी दिनुभयो । उहाँले पालिकाभित्र रहेका अन्य कोभिड संक्रमितलाई घरदैलोमै पुगेर सेवा दिइएको टेलिफोन संवादमा बताउनुभयो । अधिकारीले भन्नुभयो, ‘सेनीटाइजर, मास्क, पोषण सामग्री सहित स्वास्थ्य चौकीका इन्चार्ज, कर्मचारीसाथीहरू समुदायस्तरमा सक्रियरूपमा सेवामा लागिरहनु भएको छ ।’ गाउँपालिका अध्यक्ष कृष्णप्रसाद बस्यालले स्वास्थ्यकर्मीहरूले घरदैलो कार्यक्रम गरेर कोभिड नियन्त्रणमा लागेको  जानकारी दिनुभयो । अध्यक्ष बस्यालका अनुसार बैशाख ३१ गते शुक्रबार सम्म पालिकाका १३३ संक्रमितमध्ये ३ जना निको भई घर फर्किएका छन् । उहाँले पालिकाले होम आइसोलेसनमा रहेका संक्रमितका घरघरमा पुगेर स्वास्थ्य सामग्री, औषधि, पोषणसामग्री वितरणसहित स्वास्थ्य परामर्शमा स्वास्थ्यकर्मीहरू जुटिरहनु भएको बताउनुभयो । ‘गाउँपालिकाको कोभिड अस्पतालमा अक्सिजन सहितको १० बेड व्यवस्था भएको छ । संक्रमित बिरामीको अवस्था हेरेर अक्सिन सुविधा सहितको बेड तयार गर्न सकिनेछ ।’ बस्यालले बताउनुभयो । बगनासकाली पालिकाले गरेको ११३ एन्टिजिन परीक्षणमा ४७ जना पोजेटिभ देखिएका मध्ये १४ दिन होमआइसोलसनमा बसेर ३ जना नेगेटिभ रिपोर्टसहित निको भएको फोकल पर्सन सिअनमी सीता गौतमले जानकारी दिनुभयो ।

उता रिब्दीकोट गाउँपालिकाले कोरोना बिरामीहरूको हेल्थ केयर सम्बन्धी स्वास्थ्यकर्मीहरूलाई अभिमुखीकरण कार्यक्रम गरी समुदायस्तरमा परिचालन गरिएको जनाएको छ । स्वास्थ्य शाखा प्रमुख सुनिल अधिकारीले आफ्नो सामाजिक सञ्जाल मार्फत जानकारी सार्वजनिक गर्दै बैशाख २३ गते गाउँपालिका भित्र रहेका स्वास्थ्यकर्मीहरूलाई कोभिड संक्रमित बिरामीहरूको स्वास्थ्य परामर्श र उपचारको लागि अभिमुखीकरण कार्यक्रम गरिएको हो । पालिकाका सवै स्वास्थ्यचौकीमा आवश्यक स्वास्थ्य सामग्रीसहित स्वास्थ्यकर्मीहरूले सक्रियता बढाएको स्रोतले जनाएको छ ।

समुदायस्तरमा कोरोना नयाँ भेरियन्टमा संक्रमित बढ्न थाले पछि माथागढी गाउँपालिकाले १५ शैयाको कोरोना अस्पताल सञ्चालन गरेको जनाएको छ । स्रोतका अनुसार यसअघि संघीय सरकारको १० लाख रुपैंया अनुदानमा ५ शैया र गाउँपालिकाको लगानीमा ५ शैया गरी १० शैयाको कोरोना अस्पताल सञ्चालन गरेपनि गाउँपालिकामा संक्रमण दर बढ्दै गए पछि गाउँपालिकाले थप ५ शैया थप गरी १५ शैयाको कोरोना अस्पताल सञ्चालनमा ल्याएको हो । गाउँपालिको वडा नं. ४ देउगीरमा उक्त अस्पताल सञ्चालनमा रहेको छ । गाउँपालिकाले घरदैलो कार्यक्रम सहित संक्रमितहरूको लागि स्वास्थ्य सामग्री र परामर्श सेवा जारी राखेको अध्यक्ष सन्तोष थापा मगरले जानकारी दिनुभयो ।

पाल्पाका पालिकाहरूले कोभिड–१९ को संक्रमण रोक्न नेपाल सरकार स्वास्थ्य मन्त्रालयद्वारा तोकिएको सुरक्षा मापदण्डलाई दुरुस्त रूपमा कार्यान्वयनका लागि समुदाय स्तरमा सचेतना बढाउनुपर्नेमा जोड दिएका छन् । ‘पालिकाको प्रयासले मात्र सवै सम्भव हुँदैन, रामपुर नगरप्रमुख रमण थापाले सञ्चारकर्मीलाई भन्नुभयो, ‘समाजमा सवै सचेतवर्गले कोभिड नियन्त्रणको लागि संयमता र सचेतना बढाउँदै लैजाने हो भने जिल्लाको कोभिड–१९ को अवस्था सामान्य बनाउन सकिनेछ ।’ उहाँले मास्क, स्यानिटाइजरको सहि प्रयोग, भौतिक दुरी कायम राख्ने जस्ता सचेतनामूलक कार्यक्रमलाई अभियानकै रूपमा सवै पालिकाले अगाडि बढाउनुपर्नेमा जोड दिनुभयो ।

उता जिल्लाको तिनाउ गाउँपालिकाले समुदायस्तरमा फैलिएको कोरोना नियन्त्रण तथा रोकथामका लागि पिसिआर र एन्टिजिन परीक्षण कार्यलाई तिब्रता दिएको जनाएको छ । पालिका स्रोतका अनुसार पालिकाभित्र रहेको स्वास्थ्य तथा उपस्वास्थ्य चौकी मार्फत संक्रमितका लागि आवश्यक स्वास्थ्य सामग्री, परामर्श सेवा समुदायस्तर सम्म पु¥याइएको छ । समुदायस्तरमा कोरोनासँग मिल्दो लक्षण फैलिए पछि तत्काल ७ सय जनाको पिसिआर परीक्षण गरिने जनाएको छ । पालिकामा अहिले अक्सिजन सहितको १० बेडको आइसोलेसन कक्ष सञ्चालनमा रहेको छ । बैशाख ३० गते बिहिबार सम्म तिनाउ गाउँपालिकामा ६९ सक्रिय संक्रमितमध्ये ५ जना गाउँपालिकाको कोरोना अस्पताल र बाकीँ होम आइसोलेसनमा रहेका छन् । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुन्दरप्रसाद श्रेष्ठले सञ्चारकर्मीलाई दिएको जानकारी अनुसार विरामीको संख्या बढ्दै गएकोले गाउँपालिकाले १० वेडको अक्सिजन सहितको आइसोलेसन कक्ष रहेकोमा २९ बेडसम्म तयार गर्ने निर्णय गरेको छ ।

यसैगरी जिल्लाको रम्भा गाउँपालिका, पूर्वखोला गाउँपालिका, रैनादेवीछहरा गाउँपालिका र निस्दी गाउँपालिकाले पनि समुदायस्तरमा कोरोना नियन्त्रण तथा रोकथामका लागि अक्सिजन सहितको कोरोना अस्पताल निर्माण, संक्रमित समुदायमा औषधि सहित स्वास्थ्य परामर्शका कार्यक्रमलाई तिव्रता दिएको जनाएका छन् ।

यस्तै कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि जिल्लामा प्रहरी, प्रशासन, जिल्लास्थित अस्पताल, स्वास्थ्यचौकी, सामाजिक संघ संस्था, सामाजिक अभियन्ता, युवा व्यवसायी लगायतले समेत स्वतफूर्तरूपमा सचेतना र सहयोगका कार्यक्रमलाई अगाडि बढाएका छन् । जिल्ला स्वास्थ्य कार्यालय पाल्पाका अनुसार पाल्पामा बैशाख मसान्तसम्म जिल्लामा पिसिआर विधिबाट परीक्षण गरिएका कोरोना संक्रमितको संख्या ३ हजार ४ सय ५ पुगेको छ । यस्तै एन्टिजीन परीक्षणमा ५ सय २८ जनामा संक्रमण देखिएको छ । शुक्रबारसम्म जिल्लामा कोरोना निको हुनेहरूको संख्या २ हजार ३ सय ८७ पुगेपछि बैशाख ३१ गते शुक्रबारसम्म जिल्लामा १ हजार ४ सय ८३ सक्रिय संक्रमित छन् । जसमध्ये १ हजार ४ सय १८ होम आइसोलेसन र ६५ जना विभिन्न अस्पतालमा उपचार गराइरहेका छन् । कोभिड सेकेण्ड भेरियन्टमा जिल्लामा शुक्रबार सम्म ६३ जनाले ज्यान गुमाएका छन् । समुदायस्तरमा कोरोना संक्रमण दर बढ्न थालेपछि जिल्लामा पालिका र विभिन्न संघ संस्थाले नियन्त्रण तथा रोकथामका लागि तिब्रता बढाइरहेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*