संसद विघटनविरुद्ध कांग्रेसले राजनीतिक र कानुनी लडाईं लड्ने
काठमाण्डौं । नेपाली कांग्रेसले संसद विघटनको घटनालाई असंवैधानिक ठहर गर्दै राजनीतिक र कानुनी लडाईं लड्ने जनाएको छ । शनिवार बिहान सभापति शेरबहादुर देउवा निवासमा बसेको पदाधिकारी तथा पूर्व पदाधिकारीको बैठकले प्रतिनिधिसभा विघटनविरुद्ध लड्ने निर्णय गरेको हो ।
संविधानको ठाडो उल्लंघन गर्दै प्रधानमन्त्री र राष्ट्रपतिबाट सुनियोजित षड्यन्त्र भएको ठहर बैठकले गरेको सहमहामन्त्री डा। प्रकाशशरण महतले जानकारी दिए ।
‘यो कदम घोर असंवैधानिक र अलोकतान्त्रिक हो । यसमा काँग्रेसले अरु दलहरूसँग पनि सहकार्य गर्दै राजनीतिक प्रतिरोध गर्छ’, डा। महतले बैठक पछि सञ्चारकर्मीसँग भने, ‘न्यायिक लडाई पनि लड्छौ ।’ कांग्रेसले नेपालको संविधान र लोकतान्त्रिक मूल्य मान्यतालाई छियाछिया पार्ने काममा प्रधानमन्त्री र राष्ट्रपति नै लागेको समेत जनाएको छ ।
‘मध्यरातमा नेपाली जनता सुतिरहेको बेलामा यस्तो षडयन्त्र भएको छ । हामीले विपक्षी दलको नेताको नेतृत्वमा हस्ताक्षर सहित बहुमत पुर्याएर सरकार गठन गर्न गरेको दाबी लत्याइएको छ’, कांग्रेस नेता महतको भनाइ छ ।