चिनियाँ खोप आज नेपाल ल्याइँदै
काठमाडौं । चीनले अनुदानमा दिएको खोप लिएर मंगलबार नेपाल एयरलाइन्सको चार्टर विमान काठमाडौं आउँदैछ । चिनियाँ राष्ट्रपति सी चिनफिङले सहयोग घोषणा गरेको १० लाख डोज खोपमध्ये करिब ८ लाख डोज मंगलबार काठमाडौं आइपुग्ने बताइएको छ । यस्तै चीनको स्वायत्त क्षेत्र तिब्बतले प्रदान गर्ने २ लाख मध्ये पहिलो लटको १ लाख डोज खोप हिमालयन एयरलाइन्सको चार्टर्ड उडान मार्फत आजै ल्याइँनेछ । बाँकी १ लाख डोज पनि हिमालयन एयरलाइन्सको चार्टर्ड उडान मार्फत भोलि ल्याईने बताईएको छ ।
उक्त खोप ल्याउनका लागी सोमबार राति ११ बजे बेइजिङका लागि उडेको विमान आज दिउँसो साढे २ बजे खोप लिएर फर्किने छ ।
गत बुधबार राष्ट्रपति विद्यादेवी भण्डारी एवं अन्य विभिन्न राजनीतिक दलका प्रतिनिधिसँगको संयुक्त छलफलमा चिनियाँ राष्ट्रपति सीले नेपाललाई १० लाख डोज खोप दिने घोषणा गरेका थिए ।
चीनबाट अनुदान स्वरुप आएको उक्त खोप ५५ देखि ६५ वर्ष उमेर समूहका व्यक्तिलाई लगाउने तयारी गरिएको छ ।
यस अघि सरकारले भारतीय कम्पनी सेरम इन्ष्टिच्युटले उत्पादन गरेको कोभिशिल्ड खोप १४ जिल्लामा ५५ वर्षभन्दा माथिकालाई र बाँकी जिल्लामा ६५ वर्षमाथिका जेष्ठ नागरिकलाई दिइएको थियो ।
६५ वर्ष माथिको करिब ९ लाख भन्दा बढी र कुल साढे १४ लाख नागरिक दोस्रो डोज खोपको पर्खाइमा रहेको मन्त्रालयको तथ्यांक छ । उनीहरुलाई बेलायतको एस्ट्राजेनेकाले उत्पादन गरेको खोप लगाउने तयारी सरकारले गरेको छ ।