अन्तत एमाले र जसपा विभाजित, नयाँ दुई राजनीतिक दल दर्ता

खबरपथ संवाददाता
२ भाद्र २०७८, बुधबार २२:४१

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी एमाले अन्तत विभाजित भएको छ । बुधबार नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल निर्वाचन आयोग पुगेर नेकपा एमाले (समाजवादी) दल दर्ता गर्न निवेदन दर्ता गरे सँगै नेकपा एमाले औपचारिक रूपमा विभाजित भएको हो ।

निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले नेकपा एमाले (समाजवादी) नामको दल दर्ताका निम्ति आयोगमा निवेदन दर्ता भएको जानकारी दिनुभयो ।  नेकपा एमाले (समाजवादी) मा साविक नेकपा एमालेका सङ्घीय संसद् (प्रतिनिधिसभा र राष्ट्रियसभा) का ३१ सांसद र ५८ केन्द्रीय सदस्य रहेको नेता राजेन्द्र प्रसाद पाण्डेले जानकारी दिनुभयो । उक्त दलले माधव नेपालको अध्यक्षतामा ९५ सदस्यीय केन्द्रीय समितिको प्रस्ताव गरेको छ ।

त्यसैगरी आयोगमा बुधबार जनता समाजवादी पार्टी नेपाल (लोकतान्त्रिक) नामको नयाँ दल दर्ताका लागि निवेदन दर्ता भएको छ । साविक जनता समाजवादी पार्टी विभाजनका क्रममा नयाँ दल दर्ता भएको हो ।

वरिष्ठ नेता महन्थ ठाकुरको अध्यक्षतामा गठित उक्त पार्टीको वरिष्ठ नेतामा राजेन्द्र महतो सहितको २४ सदस्यीय कार्यकारिणी समिति रहने बताइएको छ । नयाँ दलमा साविक जसपाका १४ सांसद र १७ केन्द्रीय सदस्य रहेको जानकारी दिइएको छ ।

मंंगलबार सरकारले ल्याएको राजनीतिक दलसम्बन्धी (दोस्रो संशोधन) अध्यादेश २०७८ बुधबार राष्ट्रपतिद्धारा जारी भए लगत्तै एमाले र जसपा विभाजन भई नयाँ दल दर्ता भएको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*