एमाले तिलोत्तमाद्धारा विधान मस्यौदामाथि सुझाव संकलन
तिलोत्तमा । नेकपा एमाले तिलोत्तमा नगर कमिटीले पार्टीको प्रस्तावित विधान मस्यौदामाथि कार्यकर्ताहरुको सुझाव संकलन गरेको छ ।
शनिबार एक कार्यक्रमका बीच एमाले तिलोत्तमा नगर कमिटीले कार्यकर्तामाझ सुझाव संकलन गरेको हो । अहिले जिल्ला जिल्लाबाट प्रस्तावित विधान मस्यौदामाथि सुझाव लिने क्रम चलिरहेकाले नगर कमिटीले सुझाव लिएको अध्यक्ष मोहन चापागाईंले जानकारी दिए ।
कार्यक्रममा बोल्दै एमाले केन्द्रीय सदस्य एवं रुपन्देही जिल्ला इन्चार्ज दधिराम न्यौपानेले अव पुरानो ढाँचाबाट पार्टी व्यवस्थित ढंगले सञ्चालन हुन नसक्ने भएकाले विधान संशोधन गरी नयाँ ढंगले पार्टी संगठनलाई अगाडि बढाउनुपर्ने आवश्यकता औंल्याए । उनले पार्टीको विधान संघीय ढाँचामा लैजानका लागि पनि यो आवश्यक भएको भन्दै प्रस्तावित विधान मस्यौदामाथि कार्यकर्ताबाट आएका जायज सुझावलाई विधानमा समेटिने उल्लेख गरे ।
पार्टीको नेतृत्वका लागि प्यानल बनाएर चुनाव लड्ने र पार्टीमा निरन्तर गुटवन्दी गरिराख्ने प्रवृत्तिको अन्त्य गर्न अपरिहार्य रहेको भन्दै प्रस्तावित विधानले अध्यक्ष, महासचिव र केन्द्रीय सदस्य गरी २२५ सदस्यीय कमिटी निर्माण गर्ने र उक्त कमिटीले बाँकी पदाधिकारी मनोनयन गर्ने व्यवस्था समेटेको बताए ।
कार्यक्रममा एमाले रुपन्देहीका संयोजक शिवराज सुवेदीले पार्टीको मूल नीति र नेतृत्वमाथि प्रहार हुँदा कम्युनिष्ट आन्दोलन नै विसर्जनको दिशातर्फ जाने भएकाले यसलाई रोक्नका लागि पनि विधान संशोधन अपरिहार्य रहेको बताए । छलफल कार्यक्रममा एमाले तिलोत्तमा नगर कमिटी सचिव मिन प्रसाद पोखरेल, तामानाथ पाण्डे, केशव गौतम, रेनुका खरेल, उमापति न्यौपाने, टिकानिधी गौतम लगायतले आ–आफ्नो धारणा तथा सुझाव राखेका थिए ।