सांसद शाही र वलीलाई पदमुक्त गर्न नमिल्ने – लुम्बिनी प्रदेशसभा

खबरपथ संवाददाता
६ भाद्र २०७८, आईतवार १७:४८

बुटवल । लुम्बिनी प्रदेशसभा सचिवालयले सांसद अजय शाही र विमलाकुमारी खत्री वलीलाई पदमुक्त गर्न नमिल्ने बताएको छ । लुम्बिनी प्रदेशसभा सचिवालयले आइतबार एमालेलाई पत्र लेखेर पदमुक्त गर्न नमिल्ने बताएको हो ।

एमालेले ह्वीप उल्लंघन गरेको भन्दै सांसद शाही र वलीलाई कारबाही गरी पदमुक्त गर्न भदौ १ गते सभामुख समक्ष पत्र पठाएको थियो । तर शाही र वलीलाई पदमुक्त गर्न मिल्ने आधार नदेखिएकाले पदमुक्त नगरेको ब्यहोराको पत्र एमालेलाई पठाएको प्रदेश सभा सचिव दुर्लभकुमार पुन मगरले बताए ।

उनका अनुसार एमालेले प्रदेश सभा नियमावली २०७४ को नियम १८८ अनुसार दलगत विवरण बुझाउँदा उनीहरुको नाम समावेश गरे पनि व्यक्तिगत विवरणमा एमालेको नाम उल्लेख नभएकाले पदमुक्त गर्न नमिलेको भनी एमालेलाई पत्र दिइएको छ ।

प्रदेशसभा नियमावली १८७ सँग सम्बन्धित अनुसूची ६ अनुसार शाहीले स्वतन्त्र र वलीले माओवादी केन्द्रमा आवद्ध रहेको विवरण प्रदेश सभा सचिवालयमा बुझाएको उनले बताए ।

शाही प्रदेशसभा निर्वाचन २०७४ मा स्वतन्त्र राजनीतिक समूहबाट सूर्य चुनाव चिह्न लिएर निर्वाचनमा सहभागी भएका थिए । उनी हाल नेकपा माओवादी केन्द्र, नेपाली कांग्रेस, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाको गठबन्धन सरकारमा सहभागी भएका छन् ।

त्यस्तै वली तत्कालिन नेकपा एमाले र माओवादी केन्द्र मिलेर बनेको दल नेकपाबाट सूर्य चुनाव चिह्न लिएर प्रदेशसभा उपनिर्वाचनमा विजयी भएकी थिइन् ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*