‘गोर्खा वारियर–२’ अक्टुबर १९ देखि फेरी छायांकन

खबरपथ संवाददाता
१७ भाद्र २०७८, बिहीबार १८:३७

बुटवल । चलचित्र ‘गोर्खा वारियर–२’को बाँकी भागको छायांकन आगामी–१९ अक्टुबरदेखि सुरु हुने भएको छ । कोभिड–१९ र विभिन्न प्राविधिक कारण यो चलचित्रको आधा भाग खिचेर निर्माण टिमले केहि समय छायांकन स्थगित गरेको थियो ।

चलचित्रका निर्देशक मिलन चाम्सले लकडाउन पनि खुलेको र लण्डन तथा भारतदेखि ल्याउनुपर्ने केहि प्राविधिक सामाग्री आगामी २ हप्ताभित्रै नेपाल आइपुग्ने र त्यसपछि छायांकन थाल्ने तयारी गरिएको जानकारी दिए ।

केहि महिना अघि काठमाडौंमा एक समारोहबीच साहसिक गोर्खा सैनिक प्रति बिगुल फुकेर सम्मान गर्दै चलचित्र गोर्खा वारियर–२ को निर्माण घोषणा गरिएको थियो । चलचित्र गोर्खा वारियरको छायांकन गर्न केही ढिला हुने भएकाले गोर्खा वारियर–२ छायांकन थालिएको थियो । गोर्खा वारियर–२ प्रदर्शनपछि मात्र गोर्खा वारियर बनाउने पनि निर्माता तथा निर्देशक चाम्सले बताए ।

गोर्खा सैनिकका नभनिएका हजारौं कथा मध्ये एउटा वास्तविक कथालाई चलचित्रमा उतार्न लागिएको उनको भनाई छ ।

लन्डन सिनेआई प्रोडक्सनको प्रस्तुति र चाम्स इन्टरटेनमेन्टको सहकार्यमा निर्माण हुने चलचित्रमा सहनिर्माताको रुपमा सुरेश राई र पूर्ण लिम्बू छन् । चलचित्र नेपालसहित मलेसिया र बेलायतमा छायांकन गरिनेछ ।

चलचित्रमा रेविका गुरुङ, विजय लामा, रियर राई, भुवन सिंह राई, शिशिर बाङ्देल, बुद्धि तामाङ, कविता आले, बिरूप घले, सारा राई, मनोज केसी लगायतका कलाकारको अभिनय देख्न सकिनेछ ।

रितेस चाम्स नवनायकका रूपमा यो चलचित्र मार्फत डेब्यु गर्दै छन् । यो चलचित्रमा शैलेन्द्र खनाल ‘शरद’को गीत, एलिस कार्कीको संगीत, राजेशपायल राईको गायन, मिलन चाम्स र गिरिराज घिमिरेको लेखन, अर्जुन बीसीको सम्पादन, सुदीप बरालको डीओपी र हिमाल केसीको द्वन्द्व निर्देशन रहनेछ ।

निर्देशक चाम्सले यो प्रोजेक्ट हालसम्मकै बढि आशा गरिएको र मिहेनत गरिएको प्रोजेक्टको रुपमा आफुले लिएको प्रतिक्रिया दिए । उनी हाल चलचित्र छायांकनका लागि आवश्यक केहि प्राविधिक समान ल्याउनका लागि लण्डन पुगेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*