बुटवल उवासंघद्धारा गृहमन्त्री र मुख्यमन्त्रीलाई ज्ञापन : तत्काल पहिरो व्यबस्थापन गर्न आग्रह
बुटवल । बुटवलको ज्योतीनगर लक्ष्मीनगर क्षेत्रमा गएको पहिरो व्यबस्थापन र पहिरो प्रभावितलाई उचित व्यबस्थापनको माग गर्दै बुटवल उद्योग बाणिज्य संघले गृहमन्त्री बालकृष्ण खाँण र लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुल प्रसाद केसीलाई ज्ञापन पत्र बुझाएको छ । बुटवल उद्योग बाणिज्य संघको टोलीले बुधबार लुम्बिनी प्रदेशका मुख्यमन्त्री केसीलाई मुख्यमन्त्रीको कार्यालयमा पुगेर ज्ञापन पत्र बुझाएको हो भने जिल्ला प्रशासन कार्यालय रुपन्देही मार्फत गृहमन्त्री खाँणलाई ज्ञापन पत्र बुझाएको हो । ज्ञापन पत्र बुझाउँदै बुटवल उद्योग बाणिज्य संघका अध्यक्ष उज्ज्वल प्रसाद कसजूले ज्योतीनगर लक्ष्मीनगर क्षेत्रमा चेरेबाट झरेको पहिरो सिंगो बुटवललाई नै जोखिम हुनेगरी खडा भएकोले त्यसको दीर्घकालिन समाधानको खोजी गर्न आग्रह गर्नुभयो ।
ज्ञापन पत्र बुझ्दै लुम्बिनीका मुख्यमन्त्री केसीले लक्ष्मीनगर ज्योतीनगर क्षेत्रमा गएको पहिरो व्यबस्थापनको लागि प्रदेश सरकारको तर्फबाट काम सुरु गरिएको जानकारी गराउँदै पहिरो प्रभावितलाई तत्काल राहत र व्यबस्थापनको लागि गृहकार्य भईरहेको जानकारी गराउनु भयो । त्यस्तै रुपन्देहीका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले प्राप्त ज्ञापन पत्र तत्कालै गृह मन्त्रालयमा पठाउने र बाँकी प्रशासनबाट गर्नुपर्ने कामको लागि आफू तयार रहेको जानकारी गराउनु भयो । त्यस अवसरमा संघका निवर्तमान अध्यक्ष खिमबहादुर हमाल, वरिष्ठ उपाध्यक्ष दिनेशप्रसाद श्रेष्ठ, कार्यसमिति सदस्य कृष्ण श्रेष्ठ समेतको सहभागिता थियो ।