समाजवाद उन्मुख अर्थतन्त्रको विकास कसरी हुन्छ, त्यो कुरा कर्मचारीले जान्नुपर्छ : अर्थमन्त्री शर्मा
काठमाडौं । समाजवाद उन्मुख अर्थतन्त्रकाबारे कर्मचारीले जान्नु पर्ने अर्थमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ले बताउनु भएको छ ।
आइतबार राजस्व प्रशासन सम्बन्धी अधिकृत स्तरीय सेवा कालिन तालिमको उद्घाटन गर्नुहुँदै मन्त्री शर्माले कस्तो राजस्व नीतिले समाजवाद उन्मुख अर्थतन्त्र हुन्छ सो कुरा कर्मचारीले जान्नै पर्ने बताउनु भएको हो ।
‘नेपालको संविधानले समाजवाद उन्मुख अर्थतन्त्र भनेको छ । समाजवादको कुरा गरेको छ । तपाईँहरूले के हो समाजवाद भनेर पढ्नुप¥यो, थाहा पाउनुप¥यो’, मन्त्री शर्माले तालिममा सहभागी अधिकृत कर्मचारीहरूलाई भन्नुभयो, ‘समाजवाद उन्मुख अर्थतन्त्रको विकास कसरी गर्न सकिन्छ भन्ने कुरा जान्नु पर्छ । कस्तो कर प्रणाली, कस्तो राजस्व नीति, कस्तो उत्पादनले समाजवाद उन्मुख अर्थतन्त्र विकास हुन्छ ? त्यो कुरा कर्मचारीहरूले जान्नुपर्छ । यो विषय पनि तालिममा सिकाइयोस् ।’
संविधानले निर्दिष्ट गरेको समाजवाद उन्मुख अर्थतन्त्र कार्यान्वयनका लागि मन्त्री शर्माले जोड दिनुभएको हो । उहाँले नेपालको संविधान राजनीतिकर्मी, कर्मचारी, सर्वसाधारण सबै मिलेर ल्याएको परिवर्तन तथा उपलब्धि भएकाले त्यसको कार्यान्वयनका लागि कर्मचारी नै ‘फिल्ड’ मा रहेको स्मरण गराउनु भयो ।
समाजवाद उन्मुख अर्थतन्त्रका लागि ‘प्रगतिशील कर प्रणाली’ लागू गर्नु पर्नेमा मन्त्री शर्माले जोड दिनुभयो । उहाँले व्यक्तिको कमाईका आधारमा कर सङ्कलन गर्नु पर्ने बताउनुभयो । कतिपय धनी र धेरै कमाउने व्यक्तिले थोरै कर तिरेको तर थोरै कमाउनेले धेरै कर तिर्ने गरेको गुनासो सुनिएको भन्दै मन्त्री शर्माले त्यसमा सुधार गर्नु पर्ने आवश्यकता औंल्याउनु भयो । यस विषयमा प्रतिस्थापन विधेयक मार्फत् व्यवस्था गर्न नसके पनि आगामी बजेट मार्फत कर नीतिमा आमूल परिवर्तन गरिने उहाँले बताउनु भयो ।
‘आगामी बजेट मार्फत कर नीतिमा आमूल परिवर्तन हुन्छ’ मन्त्री शर्माले भन्नुभयो, ‘हामीले कर बुझाउनलाई ताकेता गरिरहनु पर्ने अवस्था नहोस् । कर बुझाउन स्वयम् व्यक्ति आउने वातावरण र सजिलो व्यवस्था बनाउनुस् ।’
मुलुकमा विभिन्न आन्दोलनबाट परिवर्तन आए पनि व्यवहारतः कार्यान्वयन गर्न संक्रमण कालीन अवस्थामा सबैले आ–आफ्नो स्थानबाट प्रतिवद्ध भएर लाग्न मन्त्री शर्माले आग्रह समेत गर्नुभयो । राष्ट्र निर्माणका लागि राजनीतिकर्मी, कर्मचारी र जनताले आ–आफ्नो स्थानबाट प्रतिवद्ध भएर प्राप्त उपलब्धिको संरक्षण र सरकारको नीतिलाई कार्यान्वयन गर्नुपर्ने उहाँले बताउनु भयो । उहाँले परम्परागत कार्य सम्पादन प्रणालीलाई प्रविधिमैत्री बनाउनु पर्नेमा जोड दिनुभयो । प्रविधिको प्रयोगले कम जनशक्ति लाग्ने र पारिश्रमिक समेत बढाउन सकिने उहाँले बताउनुभयो । आइतबारबाट सुरु तालिम पुस ९ गते सम्म चल्नेछ ।