मालबस्तु निकासी गर्ने व्यबसायीलाई बुटवलमा ‘अनलाईन प्रविधी’ सम्बन्धि तालिम सुरु
बुटवल । नेपाल उद्योग वाणिज्य महासंघ र बुटवल उद्योग वाणिज्य संघ, रुपन्देहीको सहकार्यमा आईतबारदेखि बुटवलमा ‘नेपाल नेशनल सिंगल विन्डोज सिस्टम’ सम्बन्धि तालिम सुरु भएको छ ।
नेपालबाट बिदेश निकासी हुने मालबस्तुमा हालसम्म म्यानुअल माध्यमबाट उत्पत्तिको प्रमाणपत्र जारी हुने गरेको थियो । अव निकासी हुने मालबस्तुमा उत्पत्तीको प्रमाणपत्र जारी गर्दा डिजिटल (पेपरलेस) प्रविधिबाट गर्नको लागि उक्त तालिमको आयोजना गरिएको हो ।
बुटवल उद्योग बाणिज्य संघ रुपन्देहीको सभाहलमा आईतबारदेखि सुरु भएको तालिम दुई दिन सम्म चल्नेछ । तालिमको शुभारम्भमा बोल्दै बुटवल उद्योग बाणिज्य संघका अध्यक्ष उज्ज्वल प्रसाद कसजूले उत्पत्तिको प्रमाणपत्र जारी गर्दा पेपरलेस बनाउन उद्योग व्यबसायीले माग गर्दै आएको र यसले उद्योगी व्यबसायीलाई छिटो छरितो, सहज र सुलभ बनाउने विश्वास व्यक्त गर्नुभयो ।
तालिममा निकासी गर्ने व्यबसायी र संघका कर्मचारी गरि ११ जना सहभागि छन् । तालिमको सुरुमा भन्सार कार्यालयका आईटी अफिसर अरुण पौडेल र नेपाल नेशनल सिंगल विन्डोजका कार्यक्रम प्रमुख सलिन बल्लाले अनलाईन सिस्टमको बारेमा भर्चुअल प्रशिक्षण गर्नु भएको थियो ।
उत्पत्तिको प्रमाणपत्र जारी गर्दा निकासी गर्ने व्यबसायीले धेरै ठाउँमा फर्म भर्नुपर्ने र अनुमति लिनुपर्ने थियो । तर डिजिटलमा गए पछि घरमै बसेर सबै काम गर्न सकिने नेपाल उद्योग वाणिज्य महासंघका आईटी अफिसर मिलाप श्रेष्ठले बताउनुभयो । तालिममा नेपाल नेशनल सिंगल विन्डोज सिस्टम (अनलाईन प्रविधी) मा कसरी काम गर्ने भन्ने विषयमा प्रशिक्षण गरिने छ ।