करमा भएका समस्या र गुनासा समाधान गर्ने संयन्त्र बनाउँछु : अर्थमन्त्री शर्मा

खबरपथ संवाददाता
१ मंसिर २०७८, बुधबार १७:३३

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ले कर प्रणाली र करदाताका समस्या तत्काल समाधान गर्न संयन्त्र निर्माण गर्ने बताउनु भएको छ । बुधबार दशौं राष्ट्रिय कर दिवसका अवसरमा आन्तरिक राजस्व विभाग लाजिम्पाटमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्नु हुँदै उहाँले समस्याको तत्काल समाधान गर्न संयन्त्र बनाइने बताउनु भएको हो ।

‘करदाताहरूको गुनासा सुन्नु पर्छ । यहाँ आइसके पछि एउटा इकाई बनाउनु पर्ने आवश्यकता महसुस गरेँ’, मन्त्री शर्माले भन्नु भयो, ‘तपाईँहरूले भन्नु भएको ‘झ’ झिक्नका लागि एउटा इकाई संयन्त्र बनाउँछु । त्यहाँ तपाईँले गुनासो राख्न पाउनु हुन्छ ।’ उहाँले कहाँ र के कारणले समस्या भएको भन्ने समस्याको तत्काल समाधानका लागि संयन्त्र बनाउने बताउनु भएको हो ।
मन्त्री शर्माले चुहावटको सूचना दिनेलाई पुरस्कृत नगरिएको गुनासो आएको बताउनु हुँदै त्यस्ता सूचना दिनेलाई तत्काल पुरस्कृत गर्न पनि आग्रह गर्नुभयो । पुरस्कृत नगर्दा सूचना दिन हतोत्साहित हुने गरेको र त्यसले कर सङ्कलनमा समेत असर गरिरहेको भन्नु हुँदै उहाँले ‘इन्सेन्टिभ’ दिन छुटेकालाई समेत तत्काल दिन निर्देशन दिनुभयो ।

उहाँले जनताले बुझाएको करबाटै सरकारको नेतृत्वकर्ता र कर्मचारीहरू जनताको सेवा गरिरहेको बताउनुभयो । त्यस्तै राजस्व व्यवस्थापनलाई आगामी दिनमा प्रविधि युक्त बनाउँदै करदाता मैत्री बनाइने बताउनुभयो । ‘पेपरलेस’, ‘कन्ट्याक्टलेस’ बनाउने प्रक्रिया थालनी भएको बताउनुहुँदै उहाँले सुरुवात गरेर मात्र नहुने भन्दै त्यसलाई पूरा गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । ‘सकारात्मक कामहरू सुरु हुन्छन्, त्यो राम्रो कुरा हो । तर सम्पन्न हुनुबाट मात्र परिणाम आउँछ’, उहाँले भन्नुभयो, ‘सुरु गरेर मात्र पुग्दैन । कर दिवसको अवसरमा सम्पन्न गर्ने प्रतिवद्धता यहाँ जनाउँछु ।’

कर दिवसमा आयोजित सो कार्यक्रमका अवसरमा मन्त्री शर्माले तीन वटा प्रतिवद्धता समेत व्यक्त गर्नुभयो । उहाँले कर प्रशासनमा हुने झन्झटलाई तत्काल समाधान गर्न इकाई/संयन्त्र बनाउने, भन्सारमा ‘भेकल स्क्यानर’ को व्यवस्था गर्ने र स्टिकर सरकार आफैँले छाप्ने प्रतिवद्धता गर्नु भएको हो ।

यसैगरी अर्थसचिव मधु कुमार मरासिनीले कर जबरजस्ती नभई सुशासन र समृद्धिका लागि स्वेच्छिक राजस्व प्रणाली निर्माण गर्न करदाता र कर प्रशासन मिलेर अघि बढ्नु पर्ने बताउनु भयो । उहाँले प्रत्येक नागरिकले तिरेको करबाटै राज्यले प्रदान गर्ने सेवा सुविधा उपलब्ध हुने बताउनुहुँदै सबैलाई करदाता शिक्षा दिनु पर्ने आवश्यकता औँल्याउनुभयो ।

‘शिक्षा, स्वास्थ्य, सुरक्षा लगायतका कुरा हामीले तिरेको करबाट व्यवस्था भएको छ । कतिपयलाई कर सके सम्म नतिरौँ भन्ने लाग्छ, तिर्न परे पनि कम’, उहाँले भन्नु भयो, ‘यो करदाता शिक्षा र करको महत्वबारे हामीले मन्थन र बुझाउनु पर्ने लागेको छ ।’
कार्यक्रममा राजस्व सचिव कृष्णहरि पुस्करले कोभिड–१९ महामारीले पु¥याएको ठूलो असरमा पनि करदाताले दिएको राजस्वले मुलुकको अर्थतन्त्रलाई पुनरुत्थानमा टेवा पुगिरहेको बताउनु हुँदै सबै करदातालाई धन्यवाद दिनुभयो ।

कार्यक्रममा क्षेत्रगत उत्कृष्ट तथा सबभन्दा बढी तिर्ने करदता तथा उत्कृष्ट कर्मचारीलाई सम्मान गरिएको थियो ।
यसैबीच आन्तरिक राजस्व विभागले लक्ष्यको ९५.३२ प्रतिशत लक्ष्य हासिल गरेको बताइएको छ । कार्यक्रममा वार्षिक प्रतिवेदन ०७७/७८ सार्वजनिक गर्दै विभागले आव ०७७/७८ मा ४ खर्ब २९ अर्ब २७ करोड राजस्व सङ्कलन गरेको बताएको हो । यस्तै २ खर्ब ८७ अर्ब ६ करोड मूल्य अभिवृद्धि कर, २ खर्ब ७७ करोड आयकर तथा १ खर्ब ३४ अर्ब ९ करोड अन्त शुल्क राजस्व सङ्कलन भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*